09/01/2026, 11:30:31
मङ्गलबार, भदौ १६, २०८३

१५१ उद्योग बन्द : उद्योग दर्ता र नवीकरणको अवस्था कस्तो छ?


धनकुटा, भदौ १६ गते । गत आर्थिक वर्ष २०८१/८२ मा धनकुटा जिल्लामा १५१ वटा घरेलु तथा साना उद्योगहरू बन्द भएका छन् भने १४८ वटा नयाँ उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार बन्द भएका उद्योगमध्ये प्रशासनतर्फ १२३ र वाणिज्यतर्फ २८ वटा रहेका छन्। सोही अवधिमा दर्ता भएका नयाँ उद्योगहरूमा कृषि तथा वनजन्य ५२, सेवामूलक २२, पर्यटन १७, उत्पादनमूलक १५, सूचना प्रविधि ५ र वाणिज्यतर्फ खाद्यान्न तथा किरानासहित ३७ वटा रहेका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धनकुटामा उद्योग दर्ता प्रक्रियामा सकारात्मक सुधार देखिएको छ। अघिल्लो वर्ष १३४ वटा मात्रै नयाँ उद्योग दर्ता भएकोमा गत वर्ष १४८ पुगेको छ भने बन्द हुने उद्योगको संख्या ३३६ बाट घटेर १५१ मा झरेको छ। गत आवमा ७६४ उद्योगहरू नवीकरण भएका छन्, जसबाट उद्योगको पुँजीतर्फ रू. १ करोड ८५५ वृद्धि हुनुका साथै रू. ३५ लाख १७ हजारभन्दा बढी राजस्व सङ्कलन भएको छ।

उद्योग कार्यालयका प्रमुख माधव बास्कोटाका अनुसार अनुदान लगायतका सेवा-सुविधा पाउने अपेक्षा र नयाँ उद्यमीहरूको उत्साहका कारण उद्योग दर्ता गर्ने क्रम बढेको हो। तर, सरकारी प्रक्रिया तथा मापदण्डअनुसार अनुदान छनोट हुने र अपेक्षाअनुसार अनुदान नपाउने कतिपय व्यवसायीहरूले पछि उद्योग बन्द गर्ने गरेको पाइएको छ। हालसम्म कार्यालयमा कुल ४ हजार २९३ उद्योगहरू दर्ता भइसकेका छन्।