08/31/2026, 09:19:59
सोमबार, भदौ १५, २०८३

बाढीपछिको पुनर्निर्माण तयारी सुरु, लागत ४ देखि ७ खर्ब रुपियाँसम्म हुने अनुमान


काठमाडौँ, भदौ १५ गते । भोटेकोशी र त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीका कारण भएको विनाशपछिको पुनर्निर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका अनुसार क्षतिको आर्थिक मूल्याङ्कन थालिएको छ भने प्रारम्भिक रूपमा ४ देखि ७ खर्ब रुपियाँसम्म क्षति भएको अनुमान गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुनर्निर्माणको लागत नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत (६६ खर्ब नौ अर्ब रुपियाँको कुल गार्हस्थ उत्पादनको आधारमा) हुने बताउनुभयो। नेपालको आफ्नै स्रोतसाधनले मात्र नपुग्ने भएकाले २०७२ को भूकम्पपछिकै मोडालिटीमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरी दातृ निकायबाट सहयोग जुटाउने तयारी गरिएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार लगानी सम्मेलन आयोजना गर्नेबारे अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबिच प्रारम्भिक छलफल भइसकेको छ। मन्त्री परिषद्ले आर्थिक व्यवस्थापनको पूर्ण जिम्मेवारी अर्थमन्त्रीलाई दिइसकेको छ। यद्यपि, हाल राज्यको मुख्य ध्यान उद्धार र राहतमा केन्द्रित रहेकाले भौतिक क्षति र त्यसको आर्थिक प्रभावको पूर्ण तथा यकिन तथ्याङ्क आउन बाँकी छ।

बाढीका कारण विशेष गरी रसुवा, नुवाकोट र धादिङ जिल्लाका जलविद्युत् आयोजना, सडक, पुल तथा दूरसञ्चार पूर्वाधारमा अकल्पनीय क्षति पुगेको छ। यसका साथै व्यक्तिगत आवास, कृषि, पशुपन्छी, भन्सार, अध्यागमन, बैङ्क तथा वित्तीय संस्था, होटेल र स्थानीय व्यवसाय पूर्ण रूपमा प्रभावित भएका छन्। त्रिशूली नदी किनारका गाउँबस्ती र सरकारी कार्यालयका अभिलेखहरूसमेत बगेकाले आर्थिक लेखाजोखा तथा बिमा दाबी भुक्तानीका लागि वास्तविक मूल्याङ्कन गर्न कठिन भइरहेको छ।

बाढीले नदी किनारका सम्पूर्ण जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनहरू बगाएको वा नष्ट गरेको छ। रसुवास्थित माथिल्लो त्रिशूली–१, रसुवागढी, लाङटाङखोला, चिलिमे, मैलुङखोला र रसुवा–भोटेकोशी तथा नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–३ ‘ए’, मिडल त्रिशूली गङ्गा, त्रिशूली र देवीघाट आयोजना क्षतिग्रस्त भएका छन्। यसबाट कुल ४३० मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा ठप्प बनेको छ।