

नवलपुर, भदौ १३ गते । भदौ १० गते आएको रसुवा बाढीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले सात बुँदे स्वास्थ्यसम्बन्धी निर्देशन जारी गरेको छ।
बाढीले बगाएर ल्याएका मानव शव, चौपाया तथा अन्य जनावर र जीवजन्तुका कारण विभिन्न किसिमका सरुवा रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको हो।
कार्यालयले प्रदूषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा अन्य जलीय जीवको सेवन नगर्न आग्रह गरेको छ। साथै, प्रदूषित पानीमा पौडी नखेल्न र पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गरिएको छ। दूषित पानीका कारण आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’ लगायत झाडापखालाजन्य रोगको जोखिम बढ्न सक्ने कार्यालयले जनाएको छ।
यस्तै, खाना राम्रोसँग पकाएर मात्र खान, काँचो र पकाएको खाना छुट्टाछुट्टै राख्न तथा बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगर्न भनिएको छ।
बाढीपछि डेंगु, जापानिज इन्सेफ्लाइटिस लगायत लामखुट्टेबाट सर्ने रोग तथा सर्पदंशको जोखिमसमेत बढ्न सक्ने भन्दै घर वरिपरि पानी जम्न नदिन, झुल प्रयोग गर्न र लामो बाहुला भएका कपडा लगाउन कार्यालयले सुझाव दिएको छ। राति हिँड्दा टर्चलाइट प्रयोग गर्न तथा सुत्नुअघि ओछ्यान जाँच गर्नसमेत आग्रह गरिएको छ।
प्राकृतिक विपद्पछि मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले आफ्नो मानसिक स्वास्थ्यको विशेष ख्याल राख्न पनि कार्यालयले अनुरोध गरेको छ।
नदी तथा खोला किनारमा मानव शव वा मरेका जीवजन्तु फेला परेमा तुरुन्तै सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीलाई खबर गर्न कार्यालयले आग्रह गरेको छ।
कार्यालयले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सरसफाइ, सुरक्षित खानेपानी र खाद्य सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















