

नवलपुर, भदौ १५ गते । भदौ १० गते आएको रसुवा बाढीका कारण स्वास्थ्य जोखिम निम्तिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले सात बुँदे निर्देशन जारी गरेको छ । बाढीले बगाएर ल्याएका मानव शव, चौपाया तथा अन्य जनावर र जीवजन्तुका कारण विभिन्न किसिमका सरुवा रोग फैलिन सक्ने भएकाले सतर्क रहन कार्यालयले सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको हो ।
कार्यालयले प्रदुषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा जलीय जीवको सेवन नगर्न र प्रदुषित पानीमा पौडी नखेल्न आग्रह गरेको छ । साथै, प्रदुषित पानीका कारण आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ए र इ जस्ता झाडापखाला जन्य रोगहरुको जोखिम बढ्न सक्ने भएकाले पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न, खाना राम्रोसँग पकाएर खान तथा बाढीको पानीमा डुबेको दूषित र कुहिएको खाद्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ ।
त्यस्तै डेंगु, जापानीज इन्सेफ्लाइटिस जस्ता लामखुट्टेबाट सर्ने रोगहरु तथा सर्पदंशको जोखिम न्यूनीकरणका लागि घरवरिपरि पानी जम्न नदिन, झुलको प्रयोग गर्न, पूरै शरीर ढाक्ने कपडा लगाउन र राति हिँड्दा वा सुत्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । विपद्पछि मनो-सामाजिक समस्याहरुसमेत बढ्न सक्ने भएकाले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्न पनि कार्यालयले सुझाएको छ ।
नदी तथा खोला किनारमा मानव शव वा मरेका जीवजन्तु फेला परेमा तुरुन्तै सम्बन्धित स्थानीय तह वा नेपाल प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ । प्राकृतिक विपदको यस घडीमा जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालन गर्दै सम्भावित महामारीबाट जोगिन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले सबैमा अपिल गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























