

काठमाडौं, भदौ १४ गते । भोटेकोसी बाढीबाट क्षतिग्रस्त बनेको ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङको मुख भेटिएसँगै सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ।
प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको मुख भर्टिकल होलबाट करिब आठ मिटर तल र आयोजनाको संरचनाबाट ४० मिटर अपस्ट्रिमतर्फ भेटिएको हो।
उहाँले सुरुङको मुख भेटिएपछि अब सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई अघि बढाउन सकिने अवस्था बनेको बताउनुभएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रहेका ४२ जना सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको खोजीका लागि नेपाली तथा विदेशी प्राविधिक टोली परिचालन गरिएको छ।
यसैबीच, त्रिशूली–३ ‘बी’ आयोजनाको फ्रन्ट फेसमा ड्रिलिङ गरी हालसम्म चारवटा प्वाल पार्ने काम सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको उर्जामन्त्रीको सचिवालयले जनाएको छ।
उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायबीचको समन्वय निरन्तर भइरहेको सचिवालयले जनाएको छ।
भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि नेपाली सुरक्षाकर्मी, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















