08/31/2026, 08:51:59
सोमबार, भदौ १५, २०८३

नागरिकको सुरक्षा र अभिभावकत्व सरकारको सर्वोच्च दायित्व : प्रधानमन्त्री शाह


काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व रहेको बताउँदै यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एकता र सामूहिक प्रयासबाट यस सङ्कटलाई परास्त गर्ने बताउनुभयो। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गर्दै उहाँले प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्‍याउने र पुनर्निर्माण तथा पुनस्र्थापनाको पूर्ण नतिजा नआएसम्म काम निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री शाहले प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपियाँ र दुई बैङ्कमा थप २१ लाख २३२ अमेरिकी डलर गरी कुल करिब पाँच अर्ब ५७ करोड रुपियाँ जम्मा भएको जानकारी दिनुभएको छ । भोटेकोशीको बाढीबारे लेख्दै उहाँले वैदेशिक सहयोगस्वरूप एडिबी, विश्व बैङ्क, अमेरिका, अस्ट्रेलिया र भारतबाट वित्तीय तथा मानवीय सहायता प्राप्त भएको बताउनुभयो। साथै चीनसँग ३० वटा बेलिब्रिजका लागि अनुरोध गरिएको र भारतबाट २३० फिट स्टिल ब्रिज प्राप्त भइसकेको उहाँले जानकारी दिनुभएको छ।

प्रतिकूल मौसमका बिच प्रभावित क्षेत्रबाट आइतबार साँझसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाहरू (माथिल्लो त्रिशूली–१, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, लामटाङ र मैलुङखोला) को सुरुङ तथा प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँगै चिनियाँ, कोरियन र भारतीय विशेषज्ञ टोलीहरूले खोज तथा उद्धार कार्य निरन्तर जारी राखेका छन् ।

बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार प्राधिकरणको सहयोगमा २० वटा स्याटेलाइट फोन पठाइनुका साथै सञ्चार सेवा द्रुत गतिमा पुनः सञ्चालन भइरहेको छ। अवरुद्ध भएका नेपाल टेलिकम र एनसेलका टावरहरू अधिकांश मर्मत गरी सञ्चालनमा ल्याइसकिएको छ भने बाँकी टावरहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएर राहत र उद्धारलाई अझ प्रभावकारी बनाएको छ।