08/31/2026, 08:52:15
सोमबार, भदौ १५, २०८३

अत्यावश्यक कामबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध


हेटौँडा, भदौ १५ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै मकवानपुर हुँदै काठमाडौँ आउजाउ गर्ने सवारीसाधनको चाप अत्यधिक बढेकाले प्रशासनले यस्तो आग्रह गरेको हो । सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन यात्रु तथा सवारीसाधनका लागि वैकल्पिक मार्गसमेत तोकिएको छ ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार सम्पूर्ण मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँतर्फ आवागमन गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी १४ सिटभन्दा धेरै क्षमता भएका यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र सोही मार्गबाट फर्कने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

१४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनका लागि भने भीमफेदी–देउराली हुँदै काठमाडौँतर्फ जाने तथा आउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । राजमार्गमा सवारी साधनको अत्यधिक चाप रहेकाले लेन अनुशासन र सुरक्षित यात्रालाई ध्यानमा राखी यो वैकल्पिक मार्ग प्रयोग गर्न गराउन प्रशासनले समन्वय गरिरहेको छ ।

प्रशासनले राजमार्गमा सवारी चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । सवारी आवागमनलाई सहज बनाउन जारी गरिएको व्यवस्थाको पालना गरी सहयोग गर्न सम्पूर्ण सवारी चालक, यातायात व्यवसायी तथा यात्रुलाई अनुरोध गरिएको छ ।