08/30/2026, 08:08:52
आइतबार, भदौ १४, २०८३

देशभर धुमधामका साथ मनाइयो गाईजात्रा (सापारु) पर्व, भक्तपुरमा आठ रात नौ दिनको विशेष रौनक


काठमाडौँ, भदौ १४ गते । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराई देशभर परम्परागत गाईजात्रा (सापारु) पर्व मनाइएको छ।

राजा प्रताप मल्लको पालादेखि सुरु भएको यो पर्वमा गाईको पुच्छर समाई मृतात्माले वैतरणी नदी पार गरी यमलोकमा प्रवेश पाउने र मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। विशेष गरी काठमाडौँ उपत्यकासहित देशका विभिन्न नेवार समुदायको बहुल्य रहेका सहरहरूमा हास्यव्यङ्ग्य, झाँकी र सांस्कृतिक नृत्यसहित यो पर्व धुमधामका साथ मनाइएको छ।

भक्तपुरमा भने यो जात्रा जनैपूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म लगातार आठ रात नौ दिनसम्म मनाइने हुँदा बिस्का जात्रापछिको दोस्रो ठुलो जात्राका रूपमा लिइन्छ। भक्तपुरमा दिवङ्गतको तस्बिरसहित बाँस र कपडाले बनाइएको ‘ताहमचा‘ निकालेर घिन्टाङघिसी, माक प्याखँ (बाँदर नृत्य), धिमे बाजा र सांस्कृतिक झाँकीका साथ नगर परिक्रमा गराइन्छ। जात्राका क्रममा दरबार स्क्वायर, टौमढी र दत्तात्रय जस्ता सांस्कृतिक चोकहरूमा विभिन्न नाटक तथा प्रहसनहरू समेत प्रदर्शन गर्ने परम्परा छ।

इतिहास अनुसार छोरा चक्रवर्तेन्द्र मल्लको असामयिक निधनपछि गहिरो शोकमा परेकी रानीलाई ‘मृत्यु सबैको घरमा हुन्छ’ भन्ने यथार्थबोध गराई मन शान्त पार्न राजा प्रताप मल्लले यो जात्राको सुरुवात गराएका थिए। त्यसै बेलादेखि सुरु भएको यो सांस्कृतिक परम्परा काठमाडौँ, ललितपुर, भक्तपुरका साथै काभ्रे, दोलखा, पोखरा, धरान लगायत देशका विभिन्न क्षेत्रमा सांस्कृतिक विविधताका साथ निरन्तर मनाइँदै आइएको छ।