08/30/2026, 08:07:27
आइतबार, भदौ १४, २०८३

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा सफलता: ‘क्राउन’ पहिचान भएसँगै अक्सिजन र क्यामेरा पठाउने कार्य सुरु


काठमाडौँ, भदौ १४ गते । बाढीका कारण लेदो र माटोले पुरिएको ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा अलपत्र परेकाहरूको उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता मिलेको छ। आइतबार बिहानैदेखि खटिएको प्राविधिक तथा सुरक्षाकर्मीको संयुक्त टोलीले लेदो पन्छाउँदै ड्रिलिङ गर्दा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान गर्न सफल भएको छ।

सुरुङको ‘क्राउन‘ पहिचान भएसँगै ड्रिलिङबाट बनाइएको प्वालमार्फत भित्रको वास्तविक अवस्था बुझ्न क्यामेरा र सम्भावित रूपमा अलपत्र परेका व्यक्तिहरूका लागि अक्सिजन पठाउने कार्य सुरु गरिएको छ। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद उद्धार टोलीले भित्र अक्सिजन तथा आवश्यक उपकरण पठाउने प्रयासलाई निरन्तरता दिइरहेको छ।

घटनास्थलमा खटिएका सुरक्षाकर्मी र प्राविधिक टोलीले सुरुङभित्र थुप्रिएको लेदो र माटो हटाउँदै पूर्ण रूपमा उद्धारको बाटो खोल्नका लागि चौबीसै घण्टा प्रयास जारी राखेका छन्।