08/30/2026, 08:08:55
आइतबार, भदौ १४, २०८३

भोटेकोशी बाढी : रास्वपाको ‘र्‍यापिड एक्सन टिम’ उद्धार र राहतमा सक्रिय


काठमाडौँ, भदौ १४ गते । नेपाल–चीन सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘र्‍यापिड एक्सन टिम‘ (RAT) का युवा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएर निरन्तर उद्धार तथा राहत कार्यमा जुटेका छन्। बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएपछि ७० भन्दा बढी युवाहरू संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी फिल्डमा परिचालन भएका हुन्।

रास्वपाको युवा दस्ताले रसुवाका आमाछोदिङ्मो, उत्तरगया, गोसाइँकुण्ड र कालिका गाउँपालिकाका साथै नुवाकोटका विदुर, किस्पाङ, तारकेश्वर र बेलकोटगढी क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्राथमिकता दिएको छ। हालसम्म बाढी प्रभावितहरूका लागि खाद्यान्न, लत्ताकपडा, ओढ्ने-ओछ्याउने र औषधि बोकेका सात ट्रक राहत सामग्री नुवाकोट लगायतका प्रभावित क्षेत्रमा पठाइसकिएको र्‍यापिड एक्सन टिमका संयोजक वैकुण्ठ थापा ‘आशिष‘ ले जानकारी दिनुभयो।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बाढी आएलगत्तै पार्टी सभापति रवि लामिछानेको पहलमा सर्वदलीय बैठक बोलाइनुका साथै युवा दस्तालाई कुनै पनि पार्टीको लोगो, झण्डा वा संकेत प्रयोग नगरी विशुद्ध स्वयंसेवी रूपमा काम गर्न निर्देशन दिइएको छ। नेता, सांसद तथा मन्त्रीहरू समेत प्रभावित क्षेत्र पुगेर उद्धार, घाइतेको उपचार र राहत कार्यमा समन्वय गरिरहेका छन् भने उद्धार सकिएपछि पुनर्स्थापनाको काममा समेत युवाहरूलाई निरन्तर खटाइने रास्वपाले जनाएको छ।