

वराहक्षेत्र, भदौ १४ गते । काभ्रे र सिन्धुली जिल्लामा भइरहेको अविरल वर्षाका कारण सुनकोसी नदीमा पानीको बहाव बढेपछि सप्तकोसी नदी किनारका बस्तीमा प्रहरीले सतर्कता अपनाउन माइकिङ गरेको छ।
सुनकोसीसहित सप्तकोसीमा मिसिने सहायक नदीहरूमा पानीको मात्रा बढ्दै गएपछि वराहक्षेत्र नगरपालिका क्षेत्रअन्तर्गत नदी किनारमा रहेका बस्तीलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको हो।
कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ६ बजे सप्तकोसी नदीको चतरामा १ लाख ९ हजार ४ सय क्यूसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो। दिउँसो १२ बजे उक्त बहाव बढेर १ लाख २८ हजार क्यूसेक प्रतिसेकेन्ड पुगेको थियो। पानीको बहाव बढेपछि कोसी ब्यारेजका १७ वटा ढोका खोलिएको जनाइएको छ।
त्यस्तै, ब्योज क्षेत्रमा बिहान ६ बजे १ लाख ६० हजार ५ क्यूसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएकोमा दिउँसो १२ बजे १ लाख ५२ हजार ६ सय ६० क्यूसेक प्रतिसेकेन्ड मापन गरिएको जनाइएको छ।
पानीको बहाव बढ्दै गएपछि महेन्द्रनगर इलाका प्रहरी कार्यालयले वराहक्षेत्र नगरपालिका क्षेत्रका सप्तकोसी नदी किनारमा माइकिङ गर्दै स्थानीयलाई सचेत गराएको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार वराहक्षेत्र मन्दिरदेखि धराहराटपनसम्मको नदी किनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रहरी निरीक्षक भट्टराईका अनुसार हालसम्म सप्तकोसी नदीमा जोखिमपूर्ण अवस्थामा पानीको बहाव बढेको छैन। तर, माथिल्लो क्षेत्रमा भइरहेको वर्षाका कारण नदीको जलसतह अझै बढ्न सक्ने भएकाले पूर्वसावधानी अपनाइएको हो।
नदी किनारका बस्तीमा रहेका स्थानीयलाई नदीको अवस्था निरन्तर नियाल्न, जोखिमयुक्त क्षेत्रमा नजान र बाढीको सम्भावित अवस्था आएमा सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ।
कोसीमा जलसतह बढे पनि मधुवन, राजावास, प्रकाशपुरलगायत पूर्वी तटबन्ध क्षेत्रमा तत्काल खतरा नरहेको बताइएको छ।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















