

धादिङ, भदौ १५ गते । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरनजिकै पृथ्वी राजमार्गको करिब सय मिटर लम्बाइ र नौ मिटर चौडाइ भाग भासिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
पृथ्वी राजमार्ग मुग्लिङ–मलेखु खण्ड निर्माण योजनाका इन्जिनियर धीरज ढकालका अनुसार त्रिशूली नदीको लगातारको कटान र ‘फ्लो कटिङ’ का कारण सडक, नाली र नदी किनारमा २०५७ सालमा निर्मित सय मिटर संरक्षण पर्खाल बगेर राजमार्ग भासिएको हो।
सडक तीव्र गतिमा भासिने क्रम जारी रहेकाले र कृष्णभिरको कठिन भूगोलका कारण तत्काल डाइभर्सन निर्माण गर्न असम्भवप्रायः रहेको इन्जिनियर ढकालले जानकारी दिनुभयो। नयाँ ‘टो वाल’ दिएर सडक पुनर्निर्माण गर्न समय लाग्ने भएकाले सडक विभागले विज्ञ टोली खटाएर अध्ययन सुरु गरेको छ। उहाँका अनुसार काठमाडौँलाई जोड्ने यो मुख्य सञ्जाल अवरुद्ध हुँदा वैकल्पिक मार्ग र स्थायी मर्मतको सम्भावनाबारे गहन अध्ययन भइरहेको छ।
सडक अवरुद्ध भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अत्यावश्यक साना सवारी र माइक्रोबसलाई फर्पिङको बाटो तथा ठुला सवारीलाई काठमाडौँ–नौबिसे–पालुङ–भैँसे हुँदै पठाउने व्यवस्था गरिएको छ। साथै कान्ति लोकपथबाट पनि सीमित सवारी सञ्चालनको तयारी गरिएको छ। तर साँघुरो बाटो र बर्सातका कारण सबै प्रकारका सवारी साधन वैकल्पिक मार्गमा पठाउन सहज छैन।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतमले पृथ्वी राजमार्ग काठमाडौँको ‘लाइफलाइन‘ भएको उल्लेख गर्दै अर्को सूचना नभएसम्म सार्वजनिक सवारी नचलाउन आह्वान गर्नुभएको छ। रसुवाको बाढीलगत्तै कृष्णभिरको पहिरोले यातायात क्षेत्र सङ्कटमा परेको बताउँदै व्यवसायीहरूले यस राजमार्गको मर्मत सम्भार तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















