08/23/2026, 09:37:52
आइतबार, भदौ ०७, २०८३

प्रविधि र पूर्वाधार विकासबाट न्याय सम्पादनलाई छिटो-छरितो बनाउँदै न्यायालय


बागलुङ, भदौ ७ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन नवीन प्रयासहरू अवलम्बन गरिएको बताउनुभएको छ।

उच्च अदालत पोखरा (बागलुङ इजलास) र जिल्ला अदालत बागलुङको अनुगमनका क्रममा उहाँले प्रविधिको प्रयोग र पुराना मुद्दा शून्यमा झार्ने अभियानका कारण न्याय सम्पादनमा उल्लेख्य सुधार आएको स्पष्ट पार्नुभयो।

अनुगमनका क्रममा बागलुङ जिल्ला अदालतमा मुद्दा फर्छ्यौट दरमा ठूलो सुधार आई दुई वर्षभन्दा पुराना मुद्दा दुईवटामा सीमित हुनुका साथै आर्थिक वर्ष २०८२/८३ मा कुल लगतको ७७.९३ प्रतिशत मुद्दा फर्स्योट भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। प्रधानन्यायाधीश शर्माले जिल्ला अदालतलाई न्याय प्राप्तिको पहिलो ढोकाका रूपमा सुदृढ गर्दै लैजाने प्रतिबद्धता जनाउँदै बालविवाह, सम्बन्धविच्छेद र करणी जस्ता सामाजिक अपराधविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

अदालतहरूको स्थलगत निरीक्षणका क्रममा बागलुङ, म्याग्दी र पर्वत पुग्नुभएका प्रधानन्यायाधीश शर्माले प्रसिद्ध बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजा-आराधना समेत गर्नुभएको थियो। उहाँले आगामी दिनमा अदालतको वस्तुस्थिति र समस्या अध्ययनका लागि सर्वोच्चबाट खटिने न्यायाधीशहरू भदौ-असोजमै आउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।