08/10/2026, 22:16:12
सोमबार, साउन २५, २०८३

चार वर्षपछि टोलीको कप्तानमा सन्दीपको पुनरागमन, एसीसी प्रिमियर कपमा नेपालको कप्तानी गर्ने


काठमाडौँ, साउन २५ गते । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा एकदिवसीय कप्तानका रूपमा सन्दीपलाई चयन गरेको हो। सन्दीप चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारीमा फर्कनुभएको हो।

क्यानद्वारा घोषित १४ सदस्यीय टोलीमा सन्दीप लामिछाने (कप्तान), आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहनुभएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन्। यस्तै समूह ‘बी’ मा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्।

नेपालको खेल तालिका:

सेप्टेम्बर १: विरुद्ध साउदी अरेबिया
सेप्टेम्बर ३: विरुद्ध बहराइन
सेप्टेम्बर ५: विरुद्ध मलेसिया
सेप्टेम्बर ७: विरुद्ध हङकङ

प्रतियोगिताका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। यस प्रतियोगिताका शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा स्थान बनाउनेछन्।