07/26/2026, 07:52:13
आइतबार, साउन १०, २०८३

बागमती प्रदेशमा सरकार गठनको जोडघटाउ: राप्रपा निर्णायक, संवैधानिक जटिलता कायमै


मकवानपुर, साउन १० गते । नेपाली काङ्ग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राजनीतिक जोड-घटाउ र अड्कलबाजी सुरु भएको छ।

नेकपा (एमाले) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो। एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिच विभिन्न प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी केन्द्रमा भएको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको छ।

वाम गठबन्धनलाई बहुमत नपुग्ने

बागमती प्रदेशमा वाम गठबन्धनलाई मात्र स्पष्ट बहुमत नपुग्ने देखिएको छ। ११० सदस्य रहेको बागमती प्रदेश सभामा छ जनाको राजीनामापछि हाल १०४ जना सदस्य कायम छन्। नयाँ सरकार गठनका लागि ५३ जना सदस्यको समर्थन आवश्यक पर्छ।

प्रदेश सभाको हालको दलीय अवस्था:

  • नेपाली काङ्ग्रेस: ३६
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा): २६
  • नेकपा (एमाले): २५ (उपसभामुखसहित)
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): १२
  • नेपाल मजदुर किसान पार्टी (नेमकिपा): ३
  • हाम्रो नेपाली पार्टी: २

संवैधानिक जटिलता

एमालेका २५ र नेकपाका २६ गरी ५१ जना मात्र पुग्छन्। हाम्रो नेपाली पार्टीका २ जनाले साथ दिँदा ५३ पुगे पनि संवैधानिक जटिलता भने कायमै रहनेछ।

प्रदेश सभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईंका अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन प्रक्रिया अघि बढ्नेछ। तर, संविधानको धारा १८६ अनुसार सभामुख पद रिक्त भई उपसभामुखले बैठकको अध्यक्षता गरिरहेकाले मत बराबर (५३-५३) भएको अवस्थामा मात्र अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत (Casting Vote) दिन पाउने व्यवस्था छ। यसले गर्दा दाबी पेस गर्न सङ्ख्या पुगे पनि मत परीक्षण (मतदान) मा जाँदा संवैधानिक जटिलता उत्पन्न हुने देखिन्छ।

राप्रपाको साथ खोज्दै एमाले

नेकपाका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी दुई दल मात्र सरकार बनाउन पर्याप्त नहुने भएकाले तीन दल मिल्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ। हाम्रो नेपाली पार्टीको मात्र साथले नपुग्ने भएपछि एमालेले राप्रपाको साथ खोजेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशलाई अनिर्णयको बन्दी नबनाउने र समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नयाँ सरकार गठनका लागि अन्य दलसँगको छलफल अगाडि बढाइएको जानकारी दिनुभयो। यता प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पनि दलहरूबिच छलफल भइरहेको बताउनुभयो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बहुमत पुर्‍याएर सरकार गठनका लागि दाबी गरेमा तत्काल पद छाड्ने बताउनुभएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री बानियाँ काठमाडौँ पुग्नुभएको छ।