06/17/2026, 12:08:22
बुधबार, असार ०३, २०८३

पार्टीलाई गतिशील, जुझारु र एकताबद्ध बनाई अगाडि बढाउनु आजको प्रमुख आवश्यकता


नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलद्वारा विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रमलाई मङ्गलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकतालाई सबै तहमा सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीलाई वैचारिक, राजनीतिक र सांगठानिक– सबै हिसाबले एकताबद्ध गर्न कार्यदल गठन गरी देशव्यापी सुझाव सङ्कलन थालिएको र आजको कार्यक्रम त्यसैको एउटा महत्वपूर्ण कडी रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “पार्टी सचिवालयको बैठकको निर्णय नै एकताबद्ध पार्टी निर्माण हो ।”

अध्यक्ष ओलीले निर्वाचनको समीक्षा गर्दा पार्टी कमिटी–जनता र कार्यकर्ता–जनताबीचको सम्बन्धमा कहाँ कमी रह्यो, र किन पार्टीविरुद्धका भ्रमहरू चिर्न नसकियो भन्ने विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पार्टी सिद्धान्त, नीति, विचार र संगठनको दृष्टिले बलियो रहेको उल्लेख गर्दै सुस्ताएका कमिटीहरू पुनर्गठन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, उहाँले पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणको प्रक्रिया अघि बढाइने पनि बताउनुभयो ।

विगतमा सरकारमा रहँदा इतिहास बदल्ने ऐतिहासिक काम भएको स्मरण गर्दै अध्यक्ष ओलीले संविधान जारी, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, युवा तथा महिला उद्यम प्रोत्साहनलगायतका उपलब्धिहरूको चर्चा गर्नुभयो । तर, आफूहरूले ती उपलब्धिहरूको प्रभावकारी प्रचार गर्न नसकेको र विपक्षीहरूले भ्रमपूर्ण कुप्रचार गरेकोले जनता प्रभावित भएको उहाँको विश्लेषण थियो ।

उहाँले भन्नुभयो– “हामीसँग लाखौं संगठित कार्यकर्ता हुँदाहुँदै पनि सत्य सम्प्रेषण गरी भ्रम चिर्न सकेनौं, जसले गर्दा जनता अलोकप्रिय र नयाँ राम्रा हुन् कि भन्ने भ्रममा परे ।”

अध्यक्ष ओलीले गत वर्ष भदौ २३–२४ को उपद्रव तत्कालीन सरकारलाई वैधानिक बाटोबाट ढाल्न नसक्दा गरिएको सत्तापलटको षडयन्त्र भएको दाबी गर्नुभयो । उहाँले फागुन २१ गतेको निर्वाचन लाई त्यसै सत्तापलटलाई वैधानिकता दिने र निर्णायक अध्यायको संज्ञा दिँदै यो जनताको वास्तविक अभिमत नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– “भदौ २३–२४ को उपद्रव र फागुन २१ को निर्वाचन अधिनायकवादी, दमनकारी र फाँसीवादी सरकार चलाउन गरिएको थियो ।”

अध्यक्ष ओलीले देशमा खतरनाक विधिद्वारा खतरनाक प्रतिगमन भएको, देश पछाडि फर्किएको र यसले सबै लोकतान्त्रिक शक्तिलाई धक्का दिएको बताउँदै राष्ट्रको भविष्यप्रति गम्भीर प्रश्न उठेको चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफूहरू अफ्ठ्यारो अवस्थामा रहेको स्वीकार गर्दै यस्तो विषम परिस्थितिमा आजको सुझाव सङ्कलन कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी एकतालाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भन्नुभयो– “हाम्रा नीति, विचार, सिद्धान्त र कार्यक्रम सही छन् । तिनैका आधारमा पार्टीलाई शक्तिशाली, एकीकृत र अनुशासित बनाउनुपर्छ ।”

उहाँले शुद्धीकरण र सुदृढीकरण मार्फत पार्टीलाई गतिशील र जुझारु बनाई अगाडि बढाउनु आजको आवश्यकता रहेको दोहोर्याउनुभयो । साथै, कठिन परिस्थितिमा कमजोर मानसिकता, अरूलाई दोषारोपण र दन्तबझान गर्ने काम नगर्न आग्रह गर्नुभयो ।

उहाँले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण प्राकृतिक प्रक्रिया भएको बताउँदै “हामी सिद्धिएका होइनौं, कमजोर र घाइते भएका हौं, फेरि उठ्नेछौं” भनी विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टी स्थापनादेखि नै नेताहरूले गल्ती गर्दै आए पनि कार्यकर्ताले पार्टी जोगाउँदै आएको स्मरण गराउँदै अहिलेको जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले केही व्यक्तिहरूले नेतृत्वका विषयमा गलत प्रचार गरिरहेकोप्रति ध्यानाकर्षण गराउँदै त्यो सचिवालयको निर्णय नभएको र पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको बताउनुभयो । उहाँले सबैलाई त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) ले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले सबै प्रदेशमा सुझाव सङ्कलनको कार्यतालिका बनाएको छ, र त्यसैको अंशस्वरूप कोशी प्रदेश कमिटीको व्यवस्थापनमा विराटनगरमा आजको कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतका नेताहरूको पनि उपस्थिति रहेको छ ।