06/14/2026, 10:24:12
आइतबार, जेठ ३१, २०८३

वाल्मीकि क्याम्पसको कागजात किर्ते गरी २० भन्दा बढी भिसा सिफारिस


काठमाडौँ, जेठ ३१ गते । वाल्मीकि विद्यापीठ (क्याम्पस) काठमाडौंको किर्ते कागजातका आधारमा शिक्षा मन्त्रालयले २० जनाभन्दा बढी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिस गरेको पाइएको छ ।

अध्यागमन विभागले छानबिन गर्दा बिहीबार १० जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिस गरेको भेटिएको थियो । त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिनाअघि पनि किर्ते कागजातकै आधारमा थप १० जनालाई भिसा सिफारिस भएको भेटिएको हो । तीमध्ये कतिपयलाई अध्यागमनले भिसासमेत जारी गरिसकेको छ ।

भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात किर्ते गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टाछुट्टै रूपमा छानबिन अघि बढाएका छन् । गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिससम्बन्धी २०७८ सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जनाए ।

अध्यागमनले नक्कली किर्ते कागजात लिएर भिसा सिफारिसका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत प्रक्राउ गरेको जनाएको छ । उनैसँगै एक जना चिनियाँ नागरिक पनि प्रक्राउ परेका छन् । वीरगन्ज घर बताउने विश्वभाषा क्याम्पसका पूर्वअध्यापक शुक्लाले क्याम्पसको कागजात किर्ते गरी भिसा सिफारिस लिने गरेको शिक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

अघिल्लो पटक पनि शुक्लाले वाल्मीकि क्याम्पसमा हुँदै नभएको विषय संस्कृत साहित्यमा आचार्य गर्न भनेर १० जना विदेशी नागरिकका लागि शिक्षा मन्त्रालयबाट भिसा सिफारिस लिएका थिए । किर्ते कागजात प्रयोग गरी भिसा सिफारिस माग गरिएका अधिकांश चिनियाँ नागरिक छन् । अन्यमा कोरियन र रसियन छन् ।

ती दुवै पत्र क्याम्पसको आधिकारिक नभएको क्याम्पस प्रमुख लामिछानेले जनाए । ‘दर्ता नम्बर पनि मिल्दैन । २४ सय दर्ता नम्बर लेखेको पत्रबाट शिक्षा मन्त्रालयसँग भिसा सिफारिस माग गरिएको छ । हाम्रोमा दर्ता नम्बर भर्खर ६ सय पुगेको छ,’ उनले भने, ‘लेटरहेड, सहीछाप पनि नक्कल गरेर बनाएको देखिन्छ । एक महिनाअघि पनि वाल्मीकिमा पढाइ नै नहुने विषयका लागि भिसा माग गरिएको रहेछ । त्यो पत्र पनि किर्ते गरेर बनाएको देखिन्छ ।’ यी दुवै पत्रका विषयमा गृह र शिक्षा मन्त्रालयलाई जानकारी दिइएको उनले बताए ।

विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्नका लागि सम्बन्धित शिक्षण संस्थाले शिक्षा मन्त्रालयसँग भिसा माग गर्ने र मन्त्रालयको सिफारिसमा अध्यागमनले भिसा उपलब्ध गराउने व्यवस्था छ । नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, शुल्क र अध्ययनसम्बन्धी व्यवस्थाको सुनिश्चितता र कागजात संलग्न गरेको हुनुपर्ने व्यवस्था छ । शिक्षा मन्त्रालयले कागजातको आधिकारिकता जाँच नगरी सिफारिस गरेको आरोप छ ।

प्रारम्भिक छानबिनमा शुक्लाले नै किर्ते कागजात तयार गरी विदेशी नागरिकका लागि भिसा सिफारिस लिने गरेको खुलेको छ । शुक्लाले क्याम्पसमा भर्ना भएको रसिददेखि अन्य कागजात पनि किर्ते गरेर पेस गर्ने गरेको विवरण भेटिएको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । विद्यालय शिक्षा महाशाखाअन्तर्गत भिसा शाखाले विदेशी विद्यार्थीलाई अध्ययन भिसा सिफारिस गर्ने व्यवस्था छ ।

विश्वभाषा क्याम्पसका पूर्वप्रमुख भीम रेग्मीका अनुसार शुक्ला २०७३ ताका आंशिक शिक्षकका रूपमा विदेशी विद्यार्थीलाई संस्कृत भाषा पढाउने काम गर्थे । त्यतिबेला क्यानडामा हुने भनिएको ‘संस्कृत सम्मेलनमा’ जान विभागीय प्रमुख रहेको नक्कली पत्र बनाएको भेटिएपछि उनले पढाउन छाडेका थिए । केही वर्षयता विश्वभाषा क्याम्पस जाँदा वाल्मीकिको शिक्षक हुँ र वाल्मीकि जाँदा विश्वभाषामा पढाउँछु भनेर शुक्लाले ढाँट्ने गरेका ती क्याम्पसका प्राध्यापकहरू बताउँछन् ।

शिक्षा मन्त्रालयले किर्ते कागजातका आधारमा भिसा सिफारिसमा कर्मचारीको संलग्नताका विषयमा छानबिन थालेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिका सदस्यमा मन्त्रालयकै कानुन उपसचिव गोपीकृष्ण रेग्मी र प्रशासन शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन् । एक साताभित्र छानबिन प्रतिवेदन बुझाउन समितिलाई समयसीमा तोकिएको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । ‘अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ,’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

शिक्षा मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका गर्दै विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई समेत पत्राचार गरेको छ । शिक्षा मन्त्रालयको टोलीले सम्बन्धित वाल्मीकि क्याम्पसमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा भिसाका लागि सिफारिस भएका विदेशीको भर्ना र अध्ययनसम्बन्धी विवरणमा त्रुटीहरू भेटिएको जनाइएको छ ।

जुन विद्यार्थीका लागि भिसा सिफारिस माग गरिएको थियो । ती विद्यार्थी क्याम्पसमा भर्ना भएको नै देखिएन,’ अनुगमनका गएका एक कर्मचारीले बताए । प्रारम्भिक अनुसन्धानबाट पेस गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्रसमेत खारेज गरिएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयलाई पठाएको पत्रमा अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पनि औंल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको र प्रतिवेदन आएपछि अनियमिततामा संलग्नहरूबारे यकिन हुने बताए ।

– सुदीप कैनी