06/12/2026, 11:11:48
शुक्रबार, जेठ २९, २०८३

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती


काठमाडौँ, जेठ २९ गते । आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सङ्घीय संसद्का दुवै सदनमा छलफल भएको छ । प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै भएको छलफल बिहीबार समाप्त भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ । त्यसपछि राष्ट्रिय सभाको बिहीबारकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ २९ र असार १ गतेको समय तोक्नुभएको छ ।

प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूले दुई रुपियाँमा पनि बदमासी वा बेइमानी गरेको भए मन्त्री र सार्वजनिक जिम्मेवारी नै त्यागिदिने बताउनुभयो । उहाँले करको दर हेरफेरमा अनियमितता भएको भनी भइरहेको प्रचार गलत भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिनुभयो ।

उहाँले सुशासनको एजेन्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाउँदै बजेट आम्दानी आर्जन गर्ने अवस्थामा लैजाने सोचमा सरकार लागेको बताउनुभयो ।

बजार स्वनिर्मित र स्वनियन्त्रित नहुने भएकाले राज्यले नै नियमन गर्नुपर्ने मन्त्री डा. वाग्लेले बताउनुभयो । “रोजगारी सिर्जना गरी स्थायी आम्दानीको माध्यम बनाउने सोच बजेटले राखेको छ, विगत २० वर्षमा गरिबी विप्रेषणका कारण घटेको हो, अब रोजगारीका माध्यमबाट आय गर्ने गरी बजेटले वातावरण बनाउन लागेको छ,” मन्त्री डा. वाग्लेले भन्नुभयो ।

बजेटमा किसानकेन्द्रित कृषि प्रणाली, सामाजिक सुरक्षा सुधार जस्ता व्यवस्था गरिएको तर राज्यका सेवासुविधा अपुग भएर नै निजी क्षेत्र आइरहेकाले त्यसलाई प्रवर्धन गर्ने नीति पनि बजेटले लिएको उहाँले बताउनुभयो । संस्थागत विद्यालयमा लगाइएको तीन प्रतिशत करका विषयमा नकारात्मक प्रचार गरिएको र व्यक्तिगत आय कर छुटको रकम वृद्धि गरिएको उहाँले प्रस्ट पार्नुभयो ।

लोक रिझ्याइँको राजनीति गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नभएको बताउँदै उहाँले बुढानीलकण्ठ स्कुलको स्वरूपमा सामुदायिक विद्यालयलाई विकास गरिने नीति लिएर बजेट ल्याएको स्पष्ट पार्नुभयो । अर्थ मन्त्रालयले बुझाइसकेपछि अर्थ विधेयकमा कानुन मन्त्रालयले अन्तिम रूप दिने क्रममा केही भाषिक कमजोरी भएकाले त्यसलाई सुधार गरी पछि फेरि विधेयकमै समावेश गरिएको उहाँले बताउनुभयो ।

सङ्गठित आक्रमण भएको दाबी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संशोधन गरेर आफूले फाइदा लिएको पुष्टि गर्न चुनौती दिनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उहाँले करका दर हेरफेर गरेर लाभ लिएको विषय प्रमाणित गर्न चुनौती दिनुभएको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफूविरुद्ध सङ्गठित रूपमा आक्रमण भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आउनुभएको छ । अर्थमन्त्रीले गत जेठ १५ गते संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा खास गरी विद्युतीय सवारीको करको दर बजेटपूर्व नै बाहिरिएको विषय यतिबेला चर्चामा छ । राजस्व सङ्कलनको आधारका रूपमा लिइने आर्थिक विधेयकमार्फत करका दरहरू निर्धारण गरिन्छ ।

संसद्मा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ । समितिको बैठकमा अर्थमन्त्री बैठकले विद्युतीय गाडीमा सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिनुभएको हो । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धुमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको अर्थमन्त्री वाग्लेको भनाइ थियो ।