06/01/2026, 22:18:38
सोमबार, जेठ १८, २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन


काठमाडौं, जेठ १८ गते । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भुवनसिंह गुरुङ नेतृत्वको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन गर्दै संघको प्रबन्ध समितिलाई विशेष साधारण सभा गर्न निर्देशन दिएको छ । प्रशासनको निर्देशनात्मक पत्रले जेठ २४ गते गर्ने भनिएको विशेष साधारण सभाको लागि बाटो खुलेको छ ।

प्रशासनले संघको कार्यसमितिका दुई तिहाइ पदाधिकारीले राजीनामा दिएपछि विधानबमोजिम कार्यसमिति स्वतः विघटन भएको पत्र संघलाई पठाएको हो । ‘राजीनामा गर्ने पदाधिकारीको संख्या दुई तिहाई हुन आएको देखिएको हुँदा संघको विधानको दफा २६ को ४ (ख) को व्यवस्थाबमोजिम संघको वर्तमान कार्यसमिति स्वतः विघटन भएको छ,’ सोमबार जिल्ला प्रशासनले संघलाई पठाएको पत्रमा भनिएको छ, ‘अतः त्यहाँ संघको विधानमा नै व्यवस्था भए बमोजिम दफा २६ को ४ (ख) को प्रबन्ध समितिको गठन गर्ने कार्य सल्लाहकार समितिको निर्णयबाट भएकोमा उक्त कार्य विधानतः मिलेकै देखिन्छ ।

प्रशासनले प्रबन्ध समितिलाई तीनबुँदे निर्देशन जारी गरेको छ । जसमा संघको विधानको दफा २६ को ४ (ख) व्यवस्था कार्यान्वयन गर्नेगरी विशेष साधारण सभा आह्वान गर्न, यसअगाडि नै प्रक्रिया सुरु भइसकेको अवस्थामा विधानअनुसार कार्यहरू निरन्तर अघि बढाउन र प्रबन्ध समितिले गर्ने सबै कार्य, निर्णय तथा सम्बद्ध विषयमा जिल्ला प्रशासन कार्यालयलाई लिखित रूपमा अध्यावधिक जानकारी दिने विषय उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले कार्यप्रक्रियामा कसैले बाधा व्यवधान नगर्न निर्देशन पनि दिएको छ । ‘यी कार्यप्रक्रियामा कोही कसैले बाधा व्यवधान सृजना नगर्नु नगराउनु,’ पत्रमा भनिएको छ, ‘निर्देशनविपरीत कार्य गरेको पाइए तत्काल जिल्ला प्रशासन कार्यालयलाई सूचना दिन हुन जानकारी गराइन्छ ।

प्रशासनले यसको जानकारी युवा, श्रम तथा रोजगार मन्त्रालयलाई दिएको छ । प्रबन्ध समितिमा पूर्वअध्यक्षद्धय राजेन्द्र भण्डारी, विमल ढकाल, व्यवसायीहरू जनक रावल, धनलाल जैशी, मधुकर रिजाल, विनोदजंग केशी र सोमबहादुर तामाङ रहेका छन् ।