06/01/2026, 12:55:45
सोमबार, जेठ १८, २०८३

अवैध भरुवा बन्दुक बरामद, ब्राउन सुगरसहित एक जना पक्राउ


सल्यान, जेठ १८ गते । सल्यान प्रहरीले छुट्टाछुट्टै कारबाहीमा तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ भने ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यही जेठ १७ गते बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलास्थित बस्न्यौरा सामुदायिक वन क्षेत्रबाट अवैध बन्दुक फेला परेको हो ।

उक्त वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । बरामद बन्दुक कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

blog

त्यसैगरी यही जेठ १५ गते बागचौर नगरपालिका–२ थारमारे बजारबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दाङबाट सल्यानतर्फ आउँदै गरेको सवारी साधनमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ४४० मिलिग्राम धुलो पदार्थ फेला परेपछि बागचौर नगरपालिका–७ निवासी ३७ वर्षीय शोभाराम वलीलाई पक्राउ गरिएको हो ।

उहाँलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सूचना अधिकारी तथा प्रहरी निरीक्षक भट्टराईले अवैध हतियार तथा लागुऔषध नियन्त्रणका लागि जिल्लाभर निगरानी र कारबाहीलाई निरन्तरता दिइएको बताउनुभयो ।

– शंकर केसी