

काठमाडौँ, जेठ १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र स्थापना र पुनःस्थापनाका क्रममा ज्यान गुमाउने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले जनआन्दोलनका क्रममा देशका असङ्ख्य वीर सन्ततिले लोकतन्त्र प्राप्तिका लागि अमूल्य जीवन बलिदान दिएको उल्लेख गर्दै ती ज्ञात–अज्ञात शहीदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
थापाले जनआन्दोलन २०६२/६३ को सफलतापछि तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको स्मरण गर्नुभयो । त्यसपछि वि.सं.२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्र अन्त्य गरिएको ऐतिहासिक दिनका रूपमा गणतन्त्र दिवस मनाइँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले संविधानको संरक्षण तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणबाट मात्र नेपाललाई समुन्नत र समृद्ध राष्ट्र बनाउन सकिने बताउनुभएको छ । साथै, लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित न्यायपूर्ण समाज निर्माणतर्फ सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
थापाले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा गणतन्त्र दिवसले सबै नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अन्त्यमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































