

काठमाडौँ, जेठ १५ गते । नागरिकको बलिदानीबाट प्राप्त गणतन्त्रको ऐतिहासिक स्मरणका लागि कीर्तिपुरमा शिलान्यास गरिएको गणतन्त्र स्तम्भ निर्माण कार्य अलपत्र परेको छ । राजनीतिक इच्छाशक्ति र बजेटको अभावमा राष्ट्रिय गौरवको यो योजना बर्सौंदेखि ओझेलमा परेको हो ।
मुलुकले १९ औँ गणतन्त्र दिवस मनाइरहँदा मन्त्रीपरिषद्को तीन तीन पटकको निर्णय र दुई जना प्रधानमन्त्रीले दुई पटक शिलान्यास गर्नुभएको गणतन्त्र स्तम्भ निर्माण कार्य योजना कागजमै सीमित छ । यसको निर्माण कहिलेदेखि सुरु हुन्छ भन्नेबारे सो स्तम्भ निर्माणको जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागका अधिकारी पनि भन्न सक्ने अवस्थामा छैनन् ।
पहिलो पटक २०६६ जेठ १५ गतेको मन्त्रीपरिषद्को बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कमा सो स्तम्भको शिलान्यास गर्नुभएको थियो ।
त्यसपछि २०६७ असार २ गतेको मन्त्रीपरिषद्को निर्णयले रत्नपार्कमा सो स्तम्भ निर्माण गर्न साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित युएनपार्कमा बनाउने भनिएको थियो । विभिन्न कारण देखाउँदै ललितपुरमा पनि निर्माण नभएपछि तत्कालीन सरकारले २०६९ वैशाख ७ गते कीर्तिपुरको गाम्खेलमा बनाउने निर्णय गरेको थियो ।
निर्णयबमोजिम तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ वैशाख १४ गते कीर्तिपुरको गाम्खेलमा स्तम्भको शिलान्यास गर्नुभएको थियो । शिलान्यास गर्दै उहाँले भन्नुभएको थियो, “शाहवंशीय राजतन्त्रको सुरुवात भएको कीर्तिपुरमा नै राजतन्त्र अन्त्य भएको प्रतीकका रूपमा गणतन्त्र स्तम्भ बनाउने निर्णय सरकारले गरेको छ ।”
बहुप्रतीक्षित गणतन्त्र स्तम्भको निर्माण कार्यमा किन अवरोध भएको छ ? भन्ने जिज्ञासामा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहराले गणतन्त्र स्तम्भको निर्माण कार्य सरकार र राजनीतिक नेतृत्वको प्राथमिकताका क्रममा तल पर्दै गएका कारण निर्माण अन्योलपूर्ण बन्दै गएको बताउनुभयो । उहाँका अनुसार सो गणतन्त्र स्तम्भ निर्माण चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समेटिएको छैन र आगामी आर्थिक वर्ष (२०८३/८४) को नीति तथा कार्यक्रम र बजेटमा समेत पर्न सकेको छैन ।


यस योजनालाई अगाडि बढाउन विभागले बहुवर्षीय खरिद गुरुयोजना स्वीकृतिका लागि पटक पटक सहरी विकास मन्त्रालयमा पठाए पनि स्वीकृत हुन नसकेका कारण काम अगाडि बढ्न नसकेको हो ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा सहरी विकास तथा भवन निर्माण विभागका पूर्वमहानिर्देशक मच्चाकाजी महर्जनले राज्यले सो गणतन्त्र स्तम्भ निर्माणको मर्म र महत्व नबुझेसम्म निर्माण हुन नसक्ने बताउनुभयो । यो योजना पहिलो प्राथमिकतामा परे पनि सरकारले यसलाई सो सरहको महत्व नदिएको बताउँदै उहाँले भन्नुभयो, “यो स्तम्भ निर्माणका लागि चाहिने करिब तीन अर्ब रुपियाँ राज्यका लागि कुनै ठुलो कुरा होइन तर प्रमुख कुरा इच्छाशक्ति हुनु प¥यो ।”
९४ मिटर उचाइ र ६० रोपनी क्षेत्रफलमा निर्माण गर्ने भनिएको सो स्तम्भको निर्माण मोडेल पनि तयार भइसकेको जानकारी दिँदै उहाँले स्तम्भ निर्माण स्थलको माटो परीक्षण, बृहत् इन्जिनियरिङ डिजाइन तथा भूकम्प आउँदा स्तम्भलाई पर्न सक्ने असरबारे अध्ययन भई सोको प्रतिवेदनसमेत आइसकेको बताउनुभयो ।
विभागका अनुसार प्रस्तावित सो स्तम्भमा तीन वटा विभिन्न उचाइका अवलोकन स्थल हुने छन् । पहिलो अवलोकन स्थल स्तम्भको २४ मिटर उचाइमा हुने छ भने दोस्रो अवलोकन स्थल ६३ मिटर उचाइमा हुने छ । पहिलो अवलोकन स्थलबाट १५० जना र दोस्रो अवलोकन स्थलबाट ११५ जनाले एकैचोटि काठमाडौँ खाल्डोको अवलोकन गर्न सक्ने छन् ।
स्तम्भको ८३ मिटर उचाइमा निर्माण हुने अवलोकन स्थल विशिष्ठ व्यक्तिका लागि मात्र खुला गरिने छ । स्तम्भको अन्तिम ११ मिटर स्तम्भ सञ्चालनका लागि प्रयोग गरिने छ । त्यसै गरी स्तम्भको भुइँमा साढे चार मिटरका दुई वटा ग्यालरी निर्माण गरिने छ । सबैभन्दा तल्लो ग्यालरीको नाम ‘नेपाल ग्यालरी’ र दोस्रो ग्यालरीको नाम ‘राजनीतिक गतिविधि ग्यालरी’ राखिने विभागले जनाएको छ ।
विभागका अनुसार राजनीति ग्यालरीमा मुलुकको राजनीतिक आन्दोलनका झलक, सहिदका तस्बिर र नाम प्रदर्शन गरिने छ । दुई वटै ग्यालरी एकै पटक एक हजारदेखि दुई हजार जनाले अवलोकन गर्न सक्ने छन् ।
समुद्री सतहदेखि एक हजार ३१६ मिटर उचाइमा निर्माण हुने यो स्तम्भ तीन वटा खम्बामा अडिने तथा तीन वटै खम्बाले हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्ने छन् । वास्तुकला डिजाइनमा निर्माण हुने सो स्तम्भको तीन वटै खम्बाको मिलनले तराई, पहाड र हिमालबाट आएका भावना, इच्छाशक्ति र आकाङ्क्षालाई समेत एकीकृत रूपमा जोड्ने कुरालाई प्रतिनिधित्व गर्ने छन् । स्तम्भको तीन वटा खम्बाले नयाँ, न्यायोचित र सङ्घीय नेपाललाई दर्शाउँछ ।
आधुनिक इन्जिनियरिङ डिजाइन (इन्टरनेसनल स्टेट अफ आर्ट) को उपयोग गरी निर्माण गरिने सो स्तम्भ मुलुकको ऐतिहासिक तथा सामाजिक धरोहरका रूपमा रहने विश्वास राज्यले लिएको छ ।
– भउचप्रसाद यादव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































