05/20/2026, 14:03:49
बुधबार, जेठ ०६, २०८३
कर्मचारी आचारसंहिता, २०८३

श्रम मन्त्रालयद्वारा आचारसंहिता जारी


काठमाडौँ, जेठ ६ गते । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि कर्मचारी आचारसंहिता, २०८३ लागु गरेको छ ।

मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताको उद्देश्य कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने रहेको जनाइएको छ । रोजगारमन्त्री रामजी यादवले मन्त्रीस्तरबाट वैशाख ३१ गतेको बैठकबाट उक्त आचारसंहिता स्वीकृत गराएसँगै कार्यान्वयनमा आएको हो ।

मन्त्रालयका अनुसार सार्वजनिक सेवा निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागु गरिएको हो । सो आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था स्पष्ट पारेको छ । कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ । साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले मन्त्रालय मातहतका निकायमा कार्यरत कर्मचारीको आचरण र व्यवहारलाई थप व्यवस्थित बनाउने गरी कर्मचारी आचारसंहिता कार्यान्वयनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारीको व्यवहारलाई सदाचारयुक्त, सहयोगी, सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउनु यस आचारसंहिताको मुख्य उद्देश्य रहेको छ ।

आचारसंहिताले ‘कर्मचारी’ को दायरालाई फराकिलो बनाउँदै मन्त्रालयको दरबन्दी भई अन्य निकायमा काजमा खटिएकालाई समेत समेटेको छ । यो व्यवस्था लागु भएपछि मन्त्रालयबाट सेवा प्राप्त गर्ने व्यक्ति वा संस्था (सेवाग्राही) ले थप प्रभावकारी र मर्यादित सेवा पाउने अपेक्षा गरिएको छ ।