05/14/2026, 21:38:30
बिहिबार, बैशाख ३१, २०८३

दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोटका लागि समिति गठन


काठमाडौँ, वैशाख ३१ गते । सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट)को बैठकले प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा प्रा.डा. लोचना श्रेष्ठ र प्राडा. दिनेश लम्साल रहनुभएको छ । संयोजक प्रा.डा. अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुनुहुन्छ । विश्वविद्यालयका अनुसार सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन, २०८२ बमोजिम उक्त समिति गठन गरिएको हो ।

बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ । विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाइएको छ ।

यसैबिच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याउनुभएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ ।