05/14/2026, 10:07:37
बिहिबार, बैशाख ३१, २०८३

डेटा सेन्टरमा विदेशी लगानीबारे अध्ययन हुने


काठमाडौँ, वैशाख ३१ गते । डेटा सेन्टरमा विदेशी लगानीको सम्भाव्यताका विषयमा सरकारले अध्ययन गर्ने भएको छ । पछिल्लो समय डेटा सेन्टरमा बढ्दो लगानी र विदेशी कम्पनीको समेत चासो बढेकाले थप स्पष्ट हुने गरी अध्ययन गर्ने तयारी गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले डेटा सेन्टरमा बहुराष्ट्रिय कम्पनीको रुचि र सम्भाव्यताको विषयलाई सरकारले अध्ययन गर्ने सोच बनाएको बताउनुभएको हो । प्रविधि पत्रकारहरूसँग मन्त्रालयमा बुधबार अन्तर्क्रिया गर्दै उहाँले नेपालले डेटा सेन्टरमा हासिल गर्न सक्ने उपलब्धि र त्यसमा वैदेशिक लगानी भित्र्याउन के गर्न सकिन्छ भन्ने विषयमा आवश्यक अध्ययन गर्ने सोच रहेको उल्लेख गर्नुभयो ।

छलफलमा मन्त्री डा. तिमिल्सिनाले फाइभजीमा जानेमा कुनै दुबिधा नभए पनि त्योभन्दा पहिले फोरजीको उच्चतम प्रयोगमा जोड दिइने बताउनुभयो । “फोरजी बन्द गरेर फाइभजीमा जाने स्थिति छैन,” उहाँले भन्नुभयो, “फोरजीको उच्चतम उपयोग गरेर दोस्रो चरणमा फाइभजीमा जाने तयारी छ ।” दूरसञ्चार बजारका लागि तेस्रो सेवाप्रदायक आवश्यक रहेको विषय नेपाल दूरसञ्चार प्राधिकरणले सिफारिस गरिसकेको र त्यस्तो सेवाप्रदायक आवश्यक छ भन्ने बुझाइमा सरकार रहेको पनि उहाँले बताउनुभयो । दूरसञ्चार क्षेत्र बलियो बनाउने सरकारको महत्वपूर्ण प्राथमिकतामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

फ्रिक्वेन्सीलगायत राज्यको स्रोतलाई जनताको हितमा प्रयोगमा ल्याउन सरकार कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाल टेलिकमको बिलिङ प्रणालीसँग सम्बन्धित समस्या र विवादका विषयमा सरकार जानकार रहेकाले यसलाई अनियमितताबिना अप्ठ्यारो नपर्ने गरी अगाडि बढाइने उहाँको भनाइ थियो । टेलिकममा जनताको पैसा भएको र जनताको सम्पत्ति दुरुपयोग हुन नदिनेमा सरकारले गम्भीर भएर काम गर्ने उहाँले उल्लेख गर्नुभयो । “जनताको सम्पत्तिको दुरुपयोग भए त्यसलाई रोक्न सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।

छलफलमा मन्त्री डा. तिमिल्सिनाले लोकतन्त्र बलियो हुन जिम्मेवार पत्रकारिता आवश्यक रहेको धारणा राख्नुभयो । “हाम्रो समाजको शत्रु भनेको गैरजिम्मेवार पत्रकारिता हो,” उहाँले भन्नुभयो । त्यस्तै उहाँले लोककल्याणकारी विज्ञापनमा अनियमितता भए त्यसको छानबिन हुने पनि जानकारी दिनुभयो ।