05/12/2026, 16:28:51
मङ्गलबार, बैशाख २९, २०८३

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट कमब्याक


काठमाडौँ, वैशाख २९ गते । स्कटल्यान्डले क्रिकेट विश्वकप लिग-२ मा मंगलबार नेपाललाई २ सय ४४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ४३ रन बनायो ।

जर्ज मन्सी र फिन्ले म्याकक्रिथले पहिलो विकेटमा १ सय रन जोडेर स्कटल्यान्डलाई सानदार सुरुआत दिलाएका थिए । मन्सी २१ औं ओभरमा पहिलो विकेटको रूपमा आउट हुँदा स्कटल्यान्डको १ सय १४ रन थियो । यहीँबाट नेपालले उत्कृष्ट कमब्याक गरेको थियो ।

तर त्यसपछि सन्दीप लामिछानेले सानदार बलिङ गर्दै नेपाललाई खेलमा फर्काए । सन्दीपको बलमा मन्सी टप एज लागेर आउट भएका थिए । सोही ओभरमा सन्दीपले म्याकक्रिथलाई एलबीडब्लू आउट गरे । मन्सीले ६२ बल खेली १२ चौका र २ छक्का प्रहार गर्दै ७५ र म्याकक्रिथले ६२ बल खेली ३ चौका प्रहार गरी ३५ रन बनाए ।

सन्दीपले त्यसपछिको आफ्नो दुई ओभरमा ब्रान्डान म्याकमुलेनलाई ७ रनमा बोल्ड गरे भने कप्तान रिची बेरिङटनलाई ५ रनमा एलबीडब्लु आउट गरेपछि स्कटल्यान्ड २५ ओभरमा १२८–४ को स्थितिमा पुगेको थियो । त्यसपछि माइकल इंग्लिस र म्याथ्यु क्रसले पूरै दबिएर खेलेका थिए ।

क्रस ३८ बल खेली १ चौका प्रहार गरि १८ र मार्क वाट १८ बल खेली समान २ चौका र छक्का प्रहार गरी २८ रनमा आउट भए । दुबैलाई करण केसीले आउट गरे । माइकल लिस्कले २३ बल खेली ३ चौका प्रहार गरी २९ रन बनाए । इंग्लिस ७२ बल खेली १ चौका प्रहार गरी ३४ रन बनाई अविजित रहे ।

सन्दीपले ४ विकेट लिनेक्रममा १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चे । करणले ८ ओभरमा ५१ र नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २–२ विकेट लिए । नन्दनले इनिङ्सको अन्तिम ओभरमा १ रनमात्र खर्चेर सो २ विकेट लिएका थिए ।

नेपालले गत मंगलबार ओमानमाथि विजय हात पारेको टोलीलाई नै प्लेयिङ ११ मा राखेको छ । रोहित पौडेलको कप्तानीमा नेपालबाट विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीलाई खेलाइरहेको छ ।

लिग २ मा स्कटल्यान्ड २८ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २४ खेलमा १८ अंक जोडेर सातौं स्थानमा छ ।

– विनोद पाण्डे