05/05/2026, 10:38:17
मङ्गलबार, बैशाख २२, २०८३

तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि !


काठमाडौँ, वैशाख २२ गते । तरकारी र फलफूलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी तरकारी बजारमा आएको तरकारीको मूल्य विश्लेषण गर्दै सबैभन्दा बढी स्थानीय काउलीको मूल्यमा ३०५ प्रतिशतसम्म वृद्धि भएको तथ्य सार्वजनिक गरेको हो ।

सो अवधिमा घिउसिमी (हाइब्रिड) मा ३०० प्रतिशत, घिउसिमी (लोकल) मा २६६.६७ प्रतिशत र ब्रोकाउलीको मूल्यमा १८७.८७ प्रतिशतसम्मको वृद्धि देखिएको छ । तर निगुरो, चाम्रे च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको जनाएको छ ।

खाद्यवस्तुतर्फ चामल, अन्डा, केरा र खानेतेलको मूल्यमा वृद्धि भएको छ । विराटनगरमा ६० रुपियाँमा पाइने सोना मनसुली चामलको मूल्य काठमाडौँ उपत्यकामा ९५ रुपियाँमा किनबेच भएको विभागको मूल्य विश्लेषण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै दाल र गेडागुडीको मूल्यमा भने फागुनको तुलनामा सामान्य उतारचढाव आए पनि औसतमा स्थिर जस्तै रहेको प्रतिवेदनमा उल्लेख छ । विभागका निर्देशक नरहरि तिवारीले सरकारको कदम र भाबी रणनीति बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारले बजार अनुगमनलाई थप सघन र प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘सिन्डिकेट र कार्टेलिङ’ जस्ता प्रवृत्तिलाई निरुत्साहित गरी उपभोक्ता संरक्षण ऐन र नियमावलीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने छ । विभागले मूल्यवृद्धिको चाप कम गर्न आन्तरिक उत्पादन बढाउन र आपूर्ति व्यवस्थापनलाई सूचना प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिएको छ ।

विभागले आर्थिक वर्ष २०८२/८३ को चैतको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार समीक्षा अवधिमा केही उपभोग्य वस्तुको मूल्यमा सामान्य वृद्धि भएको, केही स्थिर रहेको र केहीको मूल्य घटेको देखिएको छ ।

प्रतिवेदनमा विशेष गरी पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र अमेरिकी डलरको उतारचढावका कारण बजारमा प्रत्यक्ष प्रभाव परेको प्रतिवेदनले औँल्याएको छ । इन्धन र डलरको चाप प्रतिवेदन अनुसार फागुन र चैतमा मात्रै पेट्रोलियम पदार्थको मूल्य छ पटक परिवर्तन भएको छ ।

चैतको सुरुमा प्रतिलिटर १७२ रुपियाँ रहेको पेट्रोल महिनाको अन्त्यसम्म आइपुग्दा २१९ रुपियाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य पनि प्रतिलिटर १४२ बाट २०७ रुपियाँ पुगेको छ । इन्धनको वृद्धिले ढुवानी भाउ महँगो भई दैनिक उपभोग्य वस्तुको मूल्यमा ‘चक्रीय असर’ पारेको प्रतिवेदनमा उल्लेख छ ।