04/21/2026, 15:57:28
मङ्गलबार, बैशाख ०८, २०८३

बजारमा केरा अभाव : अवैध आयात रोकिएपछि मूल्य वृद्धि


काठमाडौँ, वैशाख ८ गते । नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्चिएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा भित्रिएका केरा जनस्वास्थ्यका लागि समेत प्रतिकुल हुने भन्दै व्यापारीले बिक्री रोकेपछि बजारमा अभाव सिर्जना भएको हो ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्तिमा आएको न्यूनताका कारण भएको बताउनुभयो । उहाँका अनुसार केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठुलो परिमाणमा केरा भित्रिँदा बजारमा खासै अभाव देखिएको थिएन । तर सङ्घकै पहलमा त्यस्ता अवैध केराको बिक्री वितरणमा रोक लगाएपछि आपूर्ति शृङ्खलामा एकाएक कमी आएको हो ।

नेपालको आफ्नै उत्पादन पर्याप्त नभएको र अवैध आयात रोकिएपछि बजार खाली हुँदा मूल्य बढेको उहाँको तर्क छ । अध्यक्ष बानियाँका अनुसार हाल गुणस्तरीय केराको अभाव हुँदा कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपियाँसम्म तिर्नुपर्ने बाध्यता छ । सिमानाको फितलो सुरक्षा र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै उहाँले यसलाई अझ कडाइका साथ रोक्नुपर्नेमा जोड दिनुभयो ।

पुस महिनापछि स्वदेशी उत्पादन न्यून हुने समयमा गैर-व्यवसायीहरूले अवैध रूपमा केरा भित्र्याएर बजार कब्जा गरेको भए पनि अहिले सङ्घ र महासङ्घको अगुवाइमा त्यस्ता कार्य पूर्णरूपमा बन्द गरिएको उहाँले जानकारी दिनुभयो । विशेष गरी पाँचतारे होटल तथा ठुला रेस्टुरेन्टहरूलाई गुणस्तरीय केरा अनिवार्य हुने र स्वदेशमा त्यस्तो ‘ग्रेडिङ’ गरिएको केरा नहुँदा उनीहरूले महँगो मूल्यमा खरिद गरिरहेकाले पनि बजारभाउ चुलिएको उहाँको भनाइ छ ।

यता किसानहरूले भने आफूहरूले प्रतिदर्जन ५० देखि ८० रुपियाँमा केरा बजार पठाएको दाबी गर्दै बिचौलियाका कारण मूल्य बढेको आरोप लगाउँदै आएका छन् । तर अध्यक्ष बानियाँले यो कुरा अस्वीकार गर्दै अहिले बजारमा उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन रहेको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारीसमेत मारमा परेको बताउनुभयो । उहाँले किसानहरूलाई उत्पादन गर्दा ग्रेडिङ र प्याकेजिङमा ध्यान दिन सुझाव दिनुभएको छ ।

सरकारले केरामा ८० प्रतिशत आत्मनिर्भर भएको दाबी गरे पनि वास्तविक उत्पादन ३० प्रतिशतको हाराहारीमा मात्र रहेको बानियाँको दाबी छ । उहाँले राज्यले आयात नियन्त्रण गर्दै स्वदेशी उत्पादन बढाउने ठोस नीति लिनुपर्ने र किसान एवं व्यवसायीबिच समन्वय गराउनुपर्नेमा जोड दिनुभयो । व्यवसायीका समस्या सुन्न सरकार उदासीन रहेको र कृषि मन्त्रीसँग भेटका लागि समय माग्दासमेत नपाएको भन्दै उहाँले गुनासो समेत व्यक्त गर्नुभयो ।