04/06/2026, 23:41:26
सोमबार, चैत २३, २०८२

पूर्वगृहमन्त्री रमेश लेखक कटुञ्जेबाट पक्राउ


भक्तपुर, चैत १४ गते । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ लगेको छ ।

त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरीको टोली पुगेको उहाँले जानकारी दिनुभयो ।

गत भदौ २३ गते भएको जेन-जी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले लेखकलाई पक्राउ गरेको हो । जेन-जी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ र २४ मा भएको जेन-जी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उहाँलाई जिम्मेवार भनेको छ ।