04/06/2026, 04:19:01
आइतबार, चैत २२, २०८२

तय भयो प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथ साइत


काठमाडौँ, चैत १२ गते । प्रधानमन्त्रीमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्रीको शपथका लागि रास्वपाले राष्ट्रपति कार्यालयसँग मिलेर अनौपचारिक तयारी गरिरहेको छ । शपथको औपचारिक जानकारीका लागि राष्ट्रपति कार्यालयले बिहीबार नै सूचना जारी गर्ने भएको छ । प्रधानमन्त्रीमा शाहको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा गर्ने साइत जुरेको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाए ।

प्रधानमन्त्रीमा शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ ग्रहण कार्यक्रममा ७ वटा शंखनाद, १ सय ८ जना बटुकबाट स्वस्तिवाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहको शपथ ग्रहण कार्यक्रमको तयारी सुरु गरिसकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पुष्टि गरे । ‘शुक्रबार शपथ गराउन अनौपचारिक तयारी भइरहेको छ । शपथ ग्रहणका क्रममा स्वस्तिवाचन लगायत व्यवस्था गर्नुपर्छ भनिएको छ । त्यसै अनुसार हामीले बटुकलाई संलग्न गराउने तयारी गर्दै छौं । बौद्ध भिक्षु ल्याउने तयारीबारे पनि छलफल भएको छ,’ शाक्यले भने ।

शपथ ग्रहण गरेर शाह पद बहाली गर्न करिब २ः१५ बजेतिर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेश गर्ने समय तय भएको महामन्त्री बुर्लाकोटीले बताए ।

– जयसिंह महरा