बागलुङ, चैत १२ गते । चैते दसैंको मुख्य दिन बिहीबार बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चैते दसैंको मुख्य दिन नवरात्रमा देशका विभिन्न भागबाट आउनुभएका भक्तजनले कालिका मन्दिर परिसर बिहानैदेखि भरिभराउ भएको हो ।
कालिका मन्दिरमा भक्तजनको सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी र स्वयम-सेवक परिचालन गरिएको छ । चैते दसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढेपनि नवरात्रको दिन बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।
‘‘चैते दसैं सुरु भएसँगै भक्तजनको चहलपहल बढेको थियो, मुख्यदिन निकै चाप छ, उहाँलाई सहज रुपमा पूजा गर्ने वातावरण मिलाउन सुरक्षाकर्मीसँगै स्वयंसेवक परिचालन गरिएको छ’’, अध्यक्ष खड्काले भन्नुभयो, ‘‘पछिल्लो समय भइरहेको प्रचार प्रसारका कारण देशका विभिन्न भागसहित छिमेकी भारतबाट समेत भक्तजन मन्दिरमा आउने गरेका छन् ।’’

चैते दसैंको प्रतिपदादेखि राम नवमीसम्म पाँच लाख भक्तजनले कालिका मन्दिरको दर्शन गर्ने गुठीको अनुमान छ । कालीका मन्दिरमा आएका भक्तजनलाई चैते दसंैको अवसरमा खिरको प्रसाद खाने व्यवस्था पनि छ । चैते दसैंमा गाउगाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको व्यवस्था गरेको छ ।
बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजा-पाठ लगाउनेको चाप बढेको छ । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै प्रहरीले सुरक्षा समेत बढाएको छ । मन्दिरमा बोका, राँगो, कुखुराको बलि चढाइनुका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । मन्दिरमा वडादसैं र चैते दसैंको नवरात्रमा ठुलो भीड लाग्ने गर्दछ ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ ।
अहिलेसम्म बागलुङ कालिकाबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भित्तामा १४ वटा विभिन्न शक्तिका मूर्ति कुँदिएका छन् । १ सय ८ तामाका दियो जडित प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ ।
– रामकृष्ण बोहरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
