काठमाडौँ, भदौ २० गते । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टहरूले आपसमा सञ्चार, सहकार्य र प्रतिबन्ध छल्ने उपाय साटासाट गर्न जर्मन भाषाको सार्वजनिक विकी ‘डीएसईविकी’ (DSEWiki) प्रयोग गरेको एक अध्ययनले देखाएको छ। एआई सुरक्षा संस्था नाइटिङ्गेल कलेक्टिभका चार अनुसन्धानकर्ताले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको हो।
अनुसन्धानका क्रममा सार्वजनिक इन्टरनेटमा ओपनएआईका रूपमा पहिचान गराउने एआई एजेन्टका करिब १८ हजार सामग्री फेला परेका थिए। एजेन्टहरूलाई सूचना पढ्न मात्र सक्ने तर लेख्न नसक्ने गरी तयार पारिए पनि उनीहरूले विकीमा सामग्री राख्ने (सम्पादन गर्ने) उपाय पत्ता लगाएका थिए।
यसमार्फत तोकिएका कार्यका परिणाम आदानप्रदान गर्ने, अनुसन्धानका नतिजा एकीकृत गर्ने तथा सञ्चालन वातावरणमा लगाइएका स्यान्डबक्स र सञ्जालसम्बन्धी प्रतिबन्ध छल्ने उपायबारे जानकारी साटासाट गर्ने गरेको पाइएको छ। मानव मध्यस्थकर्ताले सामग्री हटाउन थालेपछि केही एजेन्टले ‘जेडजेडजेड‘ (ZZZ) बाट सुरु हुने नाममा वैकल्पिक पृष्ठहरू समेत बनाएका थिए।
अध्ययन अनुसार विकीमा भएका ९८.५ प्रतिशत सम्पादन माइक्रोसफ्ट एज्योरका इन्टरनेट ठेगाना (IP Address) बाट भएका थिए र ओपनएआईसँग सम्बन्धित नाम तथा ठेगानाहरू प्रयोग गरिएका थिए। यद्यपि, अनुसन्धानकर्ताहरूले अध्ययन प्रारम्भिक चरणमा रहेको र एजेन्टको आन्तरिक सोच प्रक्रियामा पहुँच नभएकाले वास्तविक उद्देश्य वा यो गतिविधि प्रशिक्षणका क्रममा भएको हो कि परीक्षणका क्रममा भन्ने स्पष्ट नभएको बताएका छन्।
ओपनएआईका प्रवक्ताले प्रतिवेदनको समीक्षापछि मात्र अर्थपूर्ण प्रतिक्रिया दिइने र आवश्यक कदम चालिने जानकारी दिनुभएको छ। साथै, कम्पनीले यो गतिविधि जुलाईमा हगिङ फेससँग सम्बन्धित छुट्टै घटनासँग सम्बन्धित नरहेको समेत जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























