09/04/2026, 15:12:32
शुक्रबार, भदौ १९, २०८३

भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस सधैँ प्रतिबद्ध


नयाँदिल्ली, भदौ १९ गते । भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ।

एएनआईसँग कुरा गर्दै उहाँले पश्चिमी मुलुकहरूले रुसी तेल खरिदमा लगाएका माध्यमिक प्रतिबन्ध र शुल्कलाई इमानदार सहकार्यको सट्टा भारतमाथि दबाब सिर्जना गर्ने रणनीति भन्दै कडा आलोचना गर्नुभएको छ। उहाँले भारतलाई आवश्यक पर्ने जति तेल आपूर्ति गर्न रुस तयार रहेको र भारतले आफ्नो राष्ट्रिय हितअनुसार निर्णय गर्न सक्ने स्पष्ट पार्नुभयो।

माध्यमिक प्रतिबन्धले तेस्रो मुलुकका रिफाइनरी, ढुवानी कम्पनी र बैङ्कहरूलाई प्रभावित पारी भारतलाई प्रतिस्पर्धी मूल्यमा रुसी तेल खरिद गर्नबाट रोक्ने प्रयास गरिएको अलिपोभको आरोप छ। यद्यपि, विश्व ऊर्जा बजारले रुसी कच्चा तेलको बहिष्कार धान्न नसक्ने र रुसी तेललाई बजारबाट अलग गर्ने प्रयास सम्भव नरहेको उहाँले दाबी गर्नुभयो।

अमेरिका र युरोपेली सङ्घले प्रतिबन्ध विस्तार गरिरहेका बेला भारतले भने राष्ट्रिय हित र उपभोक्ता मूल्य स्थिरतालाई प्राथमिकता दिँदै तेल खरिद नीति कायम राखेको छ।