09/01/2026, 14:05:40
मङ्गलबार, भदौ १६, २०८३

गण्डकी प्रदेश सभाको १० औं अधिवेशन अन्त्य: गाँजा खेती नियमनसहित मुख्य विधेयकहरू पारित


लेखनाथ, भदौ १६ गते । गण्डकी प्रदेश सभाको १० औं अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो। गत जेठ ११ गते सुरु भएको यो अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम, बजेट, सालबसाली विधेयकका साथै दुई प्रमुख विधेयकहरू पारित भएका छन्।

यस अधिवेशनबाट औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खाद्य अधिकार तथा खाद्य गुणस्तर व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित भएका छन्। गाँजा खेतीसम्बन्धी विधेयक प्रदेश सभाले पहिलोपटक असार २५ गते पारित गरे पनि सङ्घीय कानुनसँग बाँझिएको भन्दै प्रदेश प्रमुखले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो।

साउन ८ गते प्रदेश सभामा फिर्ता आएको सो गाँजा खेतीसम्बन्धी विधेयकलाई प्रदेश सभाले पुनः हुबहु सर्वसम्मत रूपमा पारित गरेपछि प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गर्नुभएको थियो। प्रदेश सभा सचिवालयका अनुसार भवन निर्माण तथा बस्ती विकास विधेयक भने हाल अर्थ तथा विकास समितिमा छलफलका क्रममा रहेको छ।