09/14/2026, 01:36:01
आइतबार, भदौ २८, २०८३

प्रभावकारी न्यायिक निरूपणका लागि बार र बेञ्चको सहकार्य अपरिहार्य


तनहुँ, भदौ ७ गते । न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउन बार र बेञ्चबिच निरन्तर सहकार्य र समन्वय हुनुपर्नेमा कायममुकायम प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले जोड दिनुभएको छ।

तनहुँ जिल्ला अदालत बार एकाइद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएको र दुवै पक्षको सक्रिय सहभागिताले मात्रै अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण बन्ने बताउनुभयो।

अदालतप्रतिको नागरिक आस्था र विश्वास जोगाइराख्नु न्याय क्षेत्रको प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले न्याय सम्पादन प्रक्रियालाई थप जनमैत्री, पारदर्शी र सहज बनाउनुपर्ने बताउनुभयो।

सोही अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले न्यायपालिकाको गरिमा, स्वतन्त्रता र निष्पक्षता कायम राख्दै नागरिक भरोसा बलियो बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।