09/08/2026, 21:26:38
मङ्गलबार, भदौ २३, २०८३

अवरुद्ध बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा, भ्रामक समाचारको पछि नलाग्न आग्रह


मुस्ताङ, भदौ ६ गते । मुस्ताङ जोडिने बेनी–जोमसोम सडक खण्डको म्याग्दी–सिरुवारी र सुकेबगर क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण लेदोसहित खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

पहिरो हटाएर अहिले सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको बेनी–जोमसोम–कोरला आयोजनाले जनाएको छ। कालीगण्डकी करिडोर आयोजना कार्यालयको सक्रियतामा करिब दुई घण्टा अघि पहिरो पन्छाएपछि सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अहिले उक्त सडक खण्डमा आवागमनमा कुनै समस्या छैन। विभिन्न सञ्चारमाध्यममा सडक अझै अवरुद्ध रहेको भन्दै आइरहेका समाचार सत्य नरहेकाले त्यस्ता भ्रामक सूचनाको विश्वास नगर्न शर्माले यात्रुहरूलाई आग्रह गर्नुभएको छ।