वासिङ्टन, जेठ १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन ।
ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गर्नुभएको बताइएको छ ।
यसअघि अमेरिका र इरानका प्रतिनिधिहरूबिच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो । प्रस्तावित सहमति अनुसार हालको युद्धविरामलाई थप ६० दिनसम्म कायम राख्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छ ।
राष्ट्रपति ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला राखिनुपर्ने तथा समुद्री मार्गमा रहेका बारुदी उपकरणहरू हटाइनुपर्ने धारणा राख्नुभएको छ ।
उता, इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले विश्वास केवल व्यवहारिक कदमबाट स्थापित हुने बताउनुभएको छ । उहाँले दुवै पक्षबाट ठोस कार्यान्वयन भएपछि मात्र थप प्रगति सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ ।
अमेरिका र इरानबिचको वार्ता जारी रहे पनि सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































