धरान (सुनसरी), जेठ १५ गते । सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो ।
फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । बिहानदेखि साँझसम्म पर्यटकको घुइँचो लाग्ने गरेको शङ्करबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले बताउनुभयो ।
साथीसँग शङकरबेली सिमसार घुम्न पुग्नुभएकी मोरङ बेलबारीका सरिता श्रेष्ठले पछिल्लो समय टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा यो स्थानको चर्चा भएको देखेपछि यहाँ आएको बताउनुभयो । “चारैतिर ढकमक्क फुलेका विभिन्न रङका फूलबीच फोटो खिच्न र भिडियो बनाउन पाउँदा रमाइलो लाग्यो”, उहाँले भन्नुभयो, “पोखरी वरिपरि फूलैफूलले ढाकिएको दृश्यले मनै प्रफुल्लित बनायो । सामाजिक सञ्जालमा देखे जस्तै सुन्दर र आकर्षित रहेछ । चारैतिर फुलेका फूल र हरियालीले भरिएको वातावरण यहाँ देखिन्छ ।”
‘शिरिष, पिङ्क सावरट्री’ अर्थात गुलाबी वर्षा रुख भनेर चिनिने फूल फुलेपछि यतिबेला शङ्करबेली सिमसार फोटो तथा भिडियो खिच्नेहरूको आकर्षक गन्तव्य बनेको छ । वैशाख अन्त्यदेखि फूल फुल्न सुरु भएपछि शङ्करबेली सिमसार आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । करिब १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा व्यवस्थित गर्दै पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिँदै आएको समितिका सदस्य तामाङले बताउनुभयो ।
जङ्गलभित्र रहेको सिमसारलाई सरसफाइ र व्यवस्थापन गरी पर्यटकमैत्री बनाइएको उहाँको भनाइ छ । विभिन्न प्रजातिका फूल फुलेपछि अहिले दैनिक दुई हजारदेखि तीन हजारसम्म पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन पाँच हजारदेखि सात हजारसम्म पर्यटक घुम्न र फूल अवलोकन गर्न आउने गरेका उहाँले जानकारी दिनुभयो ।


शङ्करबेली सिमसार क्षेत्र वनभोजका लागि उपयुक्त स्थलका रूपमा परिचित छ । वनभोज खाने याममा यहाँ दैनिक १० हजारभन्दा बढी तथा बेमौसममा दैनिक १५० भन्दा बढी पर्यटक आउने गरेका सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईले बताउनुभयो । “वनभोजको याममा अत्यधिक भीड हुने भएकाले कहिलेकाही व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले मौसमी फूल फुलेपछि यहाँ आउने पर्यटकको भीड अझ बढेको छ ।” कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० गतेसम्मको अवधि मुख्य वनभोजको यामका रूपमा रहने गरेको उहाँले बताउनुभयो ।
वैशाख अन्त्यदेखि यहाँ शिरिष लगायत विभिन्न प्रजातिका फूल फुल्ने भएकाले त्यस समयमा पर्यटकको चाप बढ्ने गरेको उहाँको भनाइ छ । शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्त मानिन्छ । सिमसार वरपर रहेका शिरिष, पिङ्क सावरट्री तथा गुलाबी क्यासिया प्रजातिका फूल वैशाखदेखि फुल्दा यस क्षेत्रको सौन्दर्य अझ बढेको र सोही समयमा पर्यटकको चापसमेत वृद्धि हुने समितिले जनाएको छ ।
एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको समितिका सदस्य तामाङले बताउनुभयो । उहाँका अनुसार प्रतिटोलीबाट ३०० देखि एक हजारसम्म शुल्क लिने गरिएको छ भने घुम्न आउने पर्यटकका लागि २० टिकट शुल्क तोकिएको छ । उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ ।
करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित दुई करोड बजेटबाट विभिन्न पूर्वाधार निर्माण गरिएको समितिका सदस्य तामाङले जानकारी दिनुभयो । उक्त बजेटबाट पर्यटकका लागि साना कटेज, बालबालिकाका लागि खेलमैदान (चिल्ड्रेन पार्क), पुल, करिब ३०० मिटर ग्राभेल सडक तथा आकर्षक प्रवेशद्वार निर्माण गरिएको उहाँले बताउनुभयो ।
सिमसारभित्र रहेको आकर्षक पोखरीमा पर्यटकले बोटिङको सुविधासमेत पाउने छन् । सोही पोखरीको बीच भागमा रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार लागतमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ संरचनाले सिमसारको आकर्षण थप बढाएको उहाँको भनाइ छ ।
यहाँ दैनिकरूपमा धरान, इटहरी, विराटनगर, झापा, उदयपुर लगायत भारतबाट पर्यटक घुम्न आउने गरेका छन् । रामधुनी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७३/७४ मा ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत उपलब्ध बजेटबाट सिमसारभित्र खरले छाएका टहरा निर्माण गरिएको थियो । ती संरचनाले सिमसार क्षेत्रको सौन्दर्य थप वृद्धि गरेको समितिको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































