05/24/2026, 21:47:33
आइतबार, जेठ १०, २०८३

गृह मन्त्रालयले बनायो हुम्ला र बाजुरा सीमा क्षेत्रको घटना छानबिन टोली


काठमाडौँ, जेठ १० गते ।  गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयमा बसेको सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिसहित आइतबार बसेको आकस्मिक बैठकले सो छानबिन टोली गठन गरेको हो । उहाँका अनुसार टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

उहाँले सो घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्णरुपमा सक्रिय भइ तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अप्नाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत निर्देशन दिइएको उहाँको भनाइ छ ।