05/11/2026, 21:51:05
सोमबार, बैशाख २८, २०८३

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण


काठमाडौँ, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पाैडेलले जानकारी दिए । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसअघि सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । चाँडो नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो । बोर्डले परीक्षा सकिएको २९ दिनमा सोमबार राति एसईईको नतिजा सार्वजनिक गरेको हो ।

चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।