08/26/2026, 08:30:01
बुधबार, भदौ १०, २०८३

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय


काठमाडौँ, भदौ १० गते । काठमाडौँ उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोरमैला व्यवस्थापन लगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार मङ्गलबार बसेको बैठकले फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा विषय भएको निष्कर्ष निकाल्दै शीघ्र प्रधानमन्त्रीसँग भेट्ने निर्णय गरेको हो।

फोरमले प्रधानमन्त्रीसँगको भेटमा फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने विषय उठाउनेछ। साथै, भदौ ५ गते सिंहदरबारमा भएको बैठकमा प्रतिनिधि सभा सदस्य आशिका तामाङबाट फोरमका पदाधिकारीमाथि भएको व्यवहारप्रति घोर आपत्ति व्यक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसैबिच, काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी दीर्घकालीन समाधानबारे छलफल गर्न संसद्को पूर्वाधार विकास समितिले भदौ ११ गते बैठक आह्वान गरेको छ। समितिका सभापति आशिष गजुरेलका अनुसार उक्त बैठकमा सङ्घीय र स्थानीय सरकारका प्रतिनिधि, काठमाडौँ तथा ललितपुर महानगरपालिका र लगानी बोर्डलाई आमन्त्रित गरिएको छ।