08/26/2026, 11:05:43
बुधबार, भदौ १०, २०८३

रसुवामा बाढीपछि उद्धार तथा राहत तीव्र, तटीय क्षेत्रमा उच्च सतर्कता


काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति पठाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै आवश्यक समन्वयका साथ राहत तथा उद्धारका काम अघि बढाउन निर्देशन दिइएको उहाँले बताउनुभएको छ।

प्रभावित क्षेत्रमा मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको छ। थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।

तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उहाँले बताउनुभएको छ।

भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको बहावसमेत बढ्न सक्ने भएकाले तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नुवाकोट, धादिङ, चितवन र गोरखा लगायत जिल्लाका बासिन्दालाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपास नजान, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

बाढीबाट भएको सम्भावित जनधनको क्षति तथा जोखिमको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।