

काठमाडौँ, भदौ १० गते । तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ। बुधबार बिहान करिब ९ बजे अचानक ठूलो बाढी आएपछि टिमुरे बजारका बस्ती प्रभावित भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले बजार क्षेत्रका बस्तीमा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयस्तरमा उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको छ। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
यसैबीच बाढी नुवाकोटसम्म आइपुगेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका सूचना अधिकारी रूपेश प्रसाद नेपालका अनुसार बाढीबाट भएको क्षतिबारे तत्काल यकिन विवरण भन्न सकिने अवस्था छैन।
बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। उद्धार तथा आवश्यक तयारीका लागि जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको जनाइएको छ।
बाढीबाट टिमुरे तथा आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकाय तथा स्थानीय प्रशासनले उद्धार र राहतका लागि आवश्यक तयारी अघि बढाएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























