तनहुँ, पुस ५ गते। तनहुँको दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको आधुनिक चारलेन पुलको कामले तीव्रता पाएको छ। मुग्लिन–पोखरा सडक योजना अन्तर्गतको यो पुल निर्माणका लागि व्यास नगरपालिका–४ दमौली क्षेत्रमा करिब एक सय मिटरको पहाडी भित्तो काट्ने कार्यलाई अहिले विशेष प्राथमिकताका साथ अघि बढाइएको छ।
चारलेन सडकको मापदण्ड अनुसार नै पुलको चौडाइ मिलाउनुपर्ने भएकाले सो क्षेत्रमा भित्तो खार्ने कार्य सुरु गरिएको हो। ३१५ मिटर लम्बाइको यो पुल नेपालकै पहिलो र पृथ्वीराजमार्गको सबैभन्दा लामो चारलेन क्षमताको ‘आर्क डिजाइन’ पुल हो।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको संरचनागत कार्य करिब सकिएसँगै अब सडकसँग पुल जोड्ने भागमा भित्तो काट्ने कामलाई धमाधम अघि बढाइएको हो। हालसम्म पुल निर्माणको ७७ प्रतिशत भौतिक प्रगति भइसकेको छ। दैनिक करिब १३० जना कामदार परिचालन गरी डेक स्ल्याब, रेलिङ र फिनिसिङका कामहरू भइरहेका छन्।
सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रुपियाँको लागतमा निर्माण सम्झौता भएको यो पुल पर्यटकीय दृष्टिकोणले समेत आकर्षक देखिने गरी तयार पारिँदै छ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाकै महत्त्वपूर्ण संरचना मानिएको यो पुलले भविष्यमा आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास लिइएको छ। आयोजनाको पूर्वी खण्डमा हालसम्म समग्रमा ८६ प्रतिशत काम पूरा भइसकेको इन्जिनियर पाण्डेले दिनुभयो।




– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
