10/25/2026, 17:52:18
आइतबार, कार्तिक ०९, २०८३

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने


काठमाडौँ, २० पुसः  सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ ।

ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भन्नुभयो, “उर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो बनाउन पर्याप्त उत्पादन सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।”

सिङ्गापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ । कम्पनीले दक्षिणपश्चिम सिङ्गापुरको जुरोङ टापुमा निर्माण हुने उक्त सुविधा सुरुमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने तथा भविष्यमा १०० प्रतिशत हाइड्रोजन जलाउने योजना रहेको बताएको छ ।

इएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता शक्ति–गहन क्षेत्रहरूद्वारा संचालित सिङ्गापुरको ऊर्जा आवश्यकताहरू बढ्दै गएको छ । सहर–राज्यको बिजुली प्रणालीमा चरम माग आगामी छ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशत सम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बीचमा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्यासिफिकलाइट पावर हाइड्रोजन–तयार उत्पादन इकाई विकास गर्न पेश गरिएका छ वटा प्रस्तावहरूबाट चयन गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..