09/07/2026, 09:41:05
सोमबार, भदौ २२, २०८३

सुरक्षाकर्मीको त्याग र साहसकै कारण संकटमा लाखौँले सुरक्षित महसुस गरे: प्रधानमन्त्री वालेन्द्र शाह


काठमाडौँ, भदौ २२ गते। प्रधानमन्त्री वालेन्द्र शाहले विपत्को यस घडीमा अहोरात्र खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरुकै त्याग, निष्ठा र अदम्य साहसका कारण लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनुभएको छ।

आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको योगदानको उच्च कदर गर्दै उनीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार ३९१ जनाको सफल उद्धार गरिएको छ। कठिन भूगोल र प्रतिकूल मौसमका बिच पनि सुरक्षाकर्मीहरूले भग्नावशेष र दलदलमा पसेर खोजी तथा उद्धार कार्य जारी राखेको उल्लेख गर्दै उहाँले सङ्कट व्यवस्थापनमा खटिएका देश तथा विदेशका विज्ञहरूप्रति पनि विशेष आभार प्रकट गर्नुभएको छ।

बाढीका कारण आफ्ना सहकर्मीहरू गुमाउनुपरेको पीडाका बिच पनि सुरक्षा निकायहरू निरन्तर सेवामा समर्पित रहेको प्रधानमन्त्रीले बताउनुभयो। भोटेकोशी बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी गरी कुल ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको जानकारी दिँदै उहाँले उद्धारमा खटिएका सुरक्षाकर्मीका परिवारजनप्रति राज्य कृतज्ञ रहेको उल्लेख गर्नुभयो।