09/03/2026, 10:11:44
बिहिबार, भदौ १८, २०८३

भोटेकोशी बाढी : सप्तरीका १२ इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन, परिवारमा चिन्ता


राजविराज, भदौ १८ गते । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरिपछि रोजगारीका क्रममा रसुवा र नुवाकोटका जलविद्युत् तथा पूर्वाधार आयोजनामा पुगेका सप्तरीका १२ जना इन्जिनियरसहित ४८ जना नागरिक अझै सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बाढीपहिरोपछि सम्पर्कविहीन भएका कुल ५२ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने नुवाकोट हाइड्रोपावरमा कार्यरत खडक नगरपालिकाका सन्तोष चौधरीको शव फेला परेको छ।

सम्पर्कविहीन हुनेहरूमा इन्जिनियरहरूसँगै ३१ जना कामदार, ओभरसियर, सवारी चालक, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका छन्। प्राविधिक तथा मजदुर जनशक्ति ठुलो संख्यामा एकैपटक विपद्को चपेटामा परेपछि सप्तरीका सम्बन्धित परिवारजनमा चिन्ता र त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय तथा प्रहरी प्रशासनले सम्पर्कविहीनहरूको विवरण निरन्तर अद्यावधिक गर्दै खोजी कार्य जारी राखेको छ।

क्र.सं.इन्जिनियरको नामस्थायी ठेगाना / कार्यरत स्थान
रविन्द्रकुमार यादवतिरहुत गाउँपालिका–४, डिमन, सप्तरी
सरोज चौधरीसुरुङ्गा नगरपालिका–२, सप्तरी
मनिषकुमार मण्डलतिलाठी कोइलाडी गाउँपालिका–२, सप्तरी
शिवकुमार यादवबोदेबर्साइन नगरपालिका–८, सप्तरी
देवकुमार यादवबोदेबर्साइन नगरपालिका–८, सप्तरी
सचितकुमार यादवबोदेबर्साइन नगरपालिका–८, सप्तरी
संजय साहतिलाठी कोइलाडी गाउँपालिका–४, सप्तरी
सुरेन्द्रदेव चौधरीशम्भुनाथ नगरपालिका–३, ट्राफिक चोक, सप्तरी
अभिनाश पण्डितडाक्नेश्वरी नगरपालिका–५, पातो, सप्तरी
१०ओमनारायण यादवविष्णुपुर गाउँपालिका–१, जमुनी, सप्तरी (नुवाकोटमा कार्यरत)
११विजयकुमार यादवराजगढ गाउँपालिका–६, सप्तरी
१२सन्तोष यादवमहदेवा गाउँपालिका–२, सप्तरी
१३अजयकुमार यादव (प्राविधिक शिक्षक)विष्णुपुर गाउँपालिका–१, खुरहुरिया, सप्तरी

कठिन र भौगोलिक रूपमा जोखिमयुक्त क्षेत्रमा सञ्चालित ठुला पूर्वाधार आयोजनाहरूमा कार्यरत जनशक्तिको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता यस घटनाले औँल्याएको छ। पीडित परिवार तथा स्थानीयहरूले उद्धार र खोजी कार्यलाई थप तीव्र बनाउनका साथै आफन्तको अवस्थाबारे नियमित र विश्वसनीय सूचना उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।