08/21/2026, 15:26:38
शुक्रबार, भदौ ०५, २०८३

इमरान खानको स्वास्थ्य परीक्षणपछि पुनः अदियाला जेल फिर्ता


इस्लामाबाद, भदौ ५ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि शुक्रबार रावलपिन्डीको अदियाला जेल फिर्ता सारिएको छ। पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक खानलाई दुई दिनभित्र निजी अस्पतालमा सारेर विस्तृत मूल्याङ्कन गराउन अदालतले सङ्घीय सरकारलाई निर्देशन दिएको थियो।

तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहनुभएका ७१ वर्षीय खानमा रक्तचापको उतारचढावसम्बन्धी स्वास्थ्य समस्या देखिएपछि यो परीक्षण गरिएको हो। स्थानीय सञ्चारमाध्यम डनका अनुसार उहाँलाई अस्पताल लैजाने क्रममा आठ सयभन्दा बढी प्रहरी तथा रेन्जर्स परिचालन गरी उच्च सुरक्षा व्यवस्था मिलाइएको थियो भने आसपासका सडकहरूसमेत सर्वसाधारणका लागि बन्द गरिएका थिए।

अदालतले तोकेबमोजिमका आवश्यक जाँच र प्रारम्भिक चिकित्सकीय मूल्याङ्कन पूरा भएलगत्तै उहाँलाई कडा सुरक्षाका बीच बिहानै जेल फर्काइएको छ। सन् २०२३ देखि जेल जीवन बिताइरहनुभएका खानको हालैको मेडिकल अभिलेखमा पनि स्वास्थ्यसम्बन्धी विविध लक्षणहरू देखिएको उल्लेख थियो।