08/06/2026, 17:05:21
बिहिबार, साउन २१, २०८३

नागरिकका गुनासो एकीकृत पोर्टलबाटै सुनिने : ‘हेलो सरकार’ अब नयाँ र प्रभावकारी रूपमा स्तरोन्नति हुँदै


काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गर्ने तयारी गरेको छ। यसअन्तर्गत फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र इमेल लगायतका बहुच्यानलबाट प्राप्त हुने गुनासोहरूलाई एउटै एकीकृत पोर्टलमा व्यवस्थापन गरिनेछ। यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिसकिएको छ।

नयाँ प्रणाली अनुसार सेवाग्राहीले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गरी कारबाहीको अवस्थाबारे जानकारी लिन सक्नेछन्। साथै, निःशुल्क टेलिफोन नम्बर ११११ मा आउने कलहरूलाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा पठाउने र सेवा उपलब्ध नभए पुनः हेलो सरकारमा फर्कने व्यवस्था मिलाइनेछ। नयाँ दिग्दर्शनअनुसार गुनासोको प्रकृति हेरी अत्यावश्यक गुनासो २४ घण्टाभित्र र सामान्य गुनासो १५ दिनभित्र फछ्र्यौट गर्नुपर्ने समयसीमा तय गरिएको छ।

नागरिकको बढ्दो विश्वासका कारण हेलो सरकारमा गुनासो दर्ता हुने क्रम ह्वात्तै बढेको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा गुनासो ३२१ प्रतिशतले बढेर ६९,७२४ पुगेको छ। स्तरोन्नतिपछि हेलो सरकार केवल गुनासो दर्ता केन्द्रमा सीमित नभई राष्ट्रिय समस्याको यथार्थ चित्रण गर्ने र नीति निर्माणमा सरकारलाई पृष्ठपोषण दिने महत्त्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।