08/01/2026, 18:27:07
शनिबार, साउन १६, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह र मधेश केन्द्रित दलका नेताबीच छलफलः सुनसरीको तनाव शान्त पार्न र पुराना सम्झौता कार्यान्वयन गर्न जोड


काठमाडौं, साउन १५, २०८३ (जुलाई ३१, २०२६) । प्रधानमन्त्री वालेन्द्र शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू तथा मधेश केन्द्रित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार बालुवाटारमा छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा मधेशका समसामयिक विषय, विकास निर्माणका आयोजना, नागरिकको जनजीविकासँग जोडिएका सवाल र पछिल्लो समय सुनसरीलगायतका केही जिल्लामा देखिएको तनाव समाधान गर्ने विषयमा गहन छलफल भएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले मधेशमा शान्ति र सुव्यवस्था कायम राख्न र भविष्यमा यस्ता अवाञ्छित गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे उपस्थित नेताहरूको धारणा माग्नुभएको थियो। यस क्रममा सांसद र दलका नेताहरूले मधेश क्षेत्रका समस्या र भावी योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्रीले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलहरूसँग यसरी छलफल गर्नु धेरै नै सकारात्मक कदम भएको बताउनुभयो। “तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि हामीले प्रधानमन्त्रीसम्म आफ्ना सुझावहरू राखेका छौं,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री यस विषयमा संवेदनशील र प्रतिबद्ध भएको हामीले महसुस गरेका छौं।”

यस्तै, छलफलमा सहभागी नेता राजेन्द्र महतोले विगतका सरकारहरूले मधेशसँग गरेका सम्झौताहरू कार्यान्वयन गर्न सुझाव दिएको जानकारी दिनुभयो। उहाँले मधेशमा देखिएका समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन आग्रह गर्दै सुनसरीमा भएको घटनाको यथार्थपरक छानबिन गरी समयमै समस्या समाधान गर्न पनि प्रधानमन्त्रीसँग माग गरिएको बताउनुभयो।

उपस्थित नेताहरूले यस प्रकारको संवादात्मक पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

उक्त छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका शीर्ष नेताहरू र मधेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरू सहभागी हुनुहुन्थ्यो।